काठमाडौँ, २१ चैत । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गरी श्रेष्ठ नयाँ कार्यसमितिका लागि निर्वाचित हुनुभएको हो । श्रेष्ठले ४ हजार २२ मत प्राप्त गर्नुभएको थियो भने पोखरेलले ३८ सय ७३ मत प्राप्त गर्नुभयो ।

अध्यक्षसहित अधिकांश पदमा प्रगतिशील प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक प्यानलका उम्मेदवार लीलामणि पौडेल विजयी हुनुभएको छ । उहाँले प्रगतिशील प्यानलका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गर्नुभएको हो । पौडेलले ४१ सय ७८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी थापाले ३८ सय १ मत प्राप्त गर्नुभयो । प्रदेश उपाध्यक्ष तर्फ ५ नम्वर वाहेक सबै प्रदेशमा श्रेष्ठ प्यानल विजयी भएको छ ।

बारका कार्यसमितिको कार्यकाल तीन वर्षको रहने प्रावधान छ । कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा देशभर बारका १० हजार ३ सय १३ मतदाता मध्ये आठ हजार ३ सय २९ मत खसेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस