घोराही, २५ चैत । नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चुडामणि शर्मा कट्टेलले निवृत्त शिक्षकहरुका लागि छुट्टै अस्पतालको माग गर्नुभएको छ । नेपाल निवृत्त शिक्षक समाज दाङको १५ औं जिल्ला परिषद् तथा हाम्रो चिनारी स्मारिका विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कट्टेलले जंगी, निजामतिजस्तै शिक्षकहरुका लागि पनि अस्पतालको माग गर्नुभयो । उहाँले सके निजामति अस्पतालबाटै समाहित गरेर सेवा दिनुपर्ने नभए छुट्टै अस्पताल निर्माणका लागि सरकारलाई आग्रह गर्नुभएको हो ।

जीवनका सबै ऊर्जा समाजका लागि खर्चिएका शिक्षकहरुले निवृत्त अवस्थामा उपचार सेवा र कम्तीमा ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गर्न माग गर्नुभएको हो । उहाँले आफ्ना माग पूरा गर्न सबै निवृत्त शिक्षक एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले निवृत्तहरुले आफ्ना अनुभवलाई समाजमा लगाएर देखाउन पनि आग्रह गर्नुभएको थियो । सो अवसरमा केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर सिंह ओली, महासचिव ईश्वरबहादुर श्रेष्ठले निवृत्त शिक्षकहरुका माग सम्वोधन गर्न निरन्तर लागिपरेको जानकारी दिनुभयो । समाजका जिल्ला अध्यक्ष लालमणि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले निवृत्त शिक्षकहरुको माग पूरा गर्न एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका पूर्व अध्यक्ष विष्णुप्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मीनराज शर्मा, नेपाल शिक्षक संघका सचिव प्रकाश डाँगी, समाजका क्षेत्रीय सदस्य राजेन्द्रप्रसाद चौधरी, हाम्रो चिनारी प्रकाशन मण्डलका संयोजक गिरिराज शर्मा, पूर्वप्रअहरु विनोद पोख्रेल, माधव न्यौपाने, दामोदर पाण्डे,निवृत्त शिक्षक खगराज न्यौपानेलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गिरिराज शर्मा, पुरुषोत्तम खनाल,यज्ञबहादुर सिंह ओली, नवराज रजौरे, लालमणि न्यौपाने, मालिका पन्त, राजेन्द्रप्रसाद चौधरी, डिल्लीराज खनाल, दुर्गाप्रसाद अधिकारी, भगिरथ उपाध्याय, धनेश्वर गौतम, गणेश रेग्मी, खेमराज अधिकारी, केशरीप्रसाद अधिकारी, भुपेन्द्र पौडेल र कृष्ण डाँगीलाई सम्मान गरिएको थियो । कार्यक्रममा आजीवन सदस्यता समेत वितरण गरिएको थियो भने समाजले मुखपत्रका रुपमा प्रकाशन गरेको हाम्रो चिनारीको विमोचन गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस