घोराही, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच नम्वर प्रदेश सदस्य लक्ष्मण आचार्य तथा ओमप्रकाश आचार्य, बलदेव आचार्य, निमकान्त आचार्य, रविकिरण आचार्य र राजु आचार्यका आमा पुस्करादेवी आचार्यको १३ दिनको पुण्यतिथिमा नेकपा दाङले श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । नेकपाका जिल्ला कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षता तथा ५ नम्वर प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जलीसभा गरिएको थियो ।

श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि मुख्यमन्त्री पोख्रेलले जन्म र मृत्यु स्वभाविक क्रम भए पनि आफन्तको असामयिक निधनले दुःख महशुस हुने बताउनुभयो । उहाँले पुस्करादेवीको भौतिक शरीर नभए पनि उहाँले पुर्‍याएका योगदान पछिसम्म चिरस्थायी हुने बताउनुभयो । साथै उहाँले हरेक व्यक्तिको सफलतामा आमाको भूमिका महत्वपूर्ण भन्दै कम्युनिष्ट पार्टी निर्माणमा आमाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले घर परिवारभन्दा टाढा रहेर बस्ने नयाँ पुस्ताको प्रवृत्तिले पारिवारिक विखण्डन ल्याएको भन्दै पारिवारिक प्रणालीको पुनर्स्थापना आवस्यक रहेको बताउनुभयो ।

श्रद्धाञ्जलीसभा कार्यक्रममा नेकपाका नेता शोभाराम बस्नेतले स्वर्गीय पुस्करादेवीको जीवनी स्पष्ट पार्नुभएको थियो भने स्वर्गीय पुस्करादेवीकी साहिला छोरा बलदेव आचार्यले स्वागत गर्नुभएको थियो । जिल्ला कार्यदल सदस्य मिलन चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्य निर्मल आचार्य, केन्द्रीय सदस्य तथा पूर्व सांसद भागवत विश्वासी, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुको सहभागिता थियो । पुस्करादेवी आचार्यको गत चैत २३ गते निधन भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस