तिर्थराज ज्ञवाली

देउखुरी, १२ वैशाख । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबैलाई सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम वार्षिक विद्यालय सुधार योजनामा सहभागितामूलक समीक्षा र योजना तर्जुमा गोष्ठीमा बोल्दै अध्यक्ष सुवेदीले प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थी सबै लागे मात्र शैक्षिक गुणस्तर हासिल गर्न सकिने धारणा राख्नुभयो । उक्त अवसरमा बोल्दै उहाँले विद्यालय सुधार योजना सबै मिलेर निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

विद्यालयको स्तर त्यहाँको पठनपाठन, शैक्षिक स्थिति, गुणस्तर, योजना तथा कार्यसम्पादनका आधारमा हुने भएको हुँदा शिक्षकले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । रमाइलो ढङ्गले विद्यार्थीले बुझ्ने शैलीमा पढाउँदै दिगो सिकाईतर्फ लाग्न उहाँले शिक्षकहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले १ कक्षादेखि ३ कक्षाका विद्यार्थीका लागि स्थानीय सरकार र केन्द्र सरकारले धेरै रकम खर्च गरेको बताउँदै बालबालिकाको सिक्ने इच्छा जगाउने गरी पठनपाठन गराउनुपर्ने बताउनुभयो । बालबालिकालाई शिक्षकशिक्षिकाहरुले आफ्नै सन्तानसरह शिक्षा र माया दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले शिक्षक र विद्यार्थीले सिक्ने र सिकाउने कलालाई सरल सहज र दिगो बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीले राप्ती गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा धेरै रकम लगानी गरेको र यस क्षेत्रका शिक्षक विद्यार्थीको समेत लाभ हुने कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा साथ र सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा राप्ती क्षेत्रका २० विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक परिचालक अधिकृत लक्ष्मी चौधरी, लिलावति चौधरी, अभ्यस्तकर्ता सृजना शर्मा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका शिक्षा शाखाका राजेन्द्र घिमिरे, फणेन्द्रराज देवकोटा, ईजिआरपी जिल्ला संयोजक हल्लुराम चौधरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस