फारुलाचौर (सल्यान), २६ वैशाख । दार्मा गाउँपालिकाको सहयोग तथा रेडियो शारदाको आयोजनामा ३ दिने आधारभूत पत्रकारिता तालिम बिहीबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर के.सी.ले स्थानीय तहमा पत्रकारिता क्षेत्रतर्फ आकर्षित युवाहरुको दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । स्थानीय तहमा भएका गतिविधि, घटना एवं जानकारीहरुलाई सञ्चार माध्यममा ल्याउन तालिम फलदायी हुने उहाँको धारणा थियो ।उक्त अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले तालिमका सहभागीहरुलाई तालिम अवधिभर ध्यानपूर्वक सिक्न अनुरोध गर्दै समाज रुपान्तरणमा पत्रकारिताका माध्यमबाट कलम चलाउन आग्रह गर्नुभयो । सहभागीहरुले तालिम सिक्ने मात्रै भन्दा पनि समाजको वस्तुगत अवस्था सञ्चार माध्यममा आउनुपर्ने उहाँको भनाइ थियो ।

उक्त अवसरमा वडा नं. ३ का अध्यक्ष सेतीराम रोकाहा, वडा नं. ६ का अध्यक्ष दुर्गाबहादुर मल्ल, वडा नं. २ का अध्यक्ष डिल्लीबहादुर केसी, दार्मा गाउँपालिकाका रोजगार संयोजक किरण गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शनिबारसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा र गणेशमान सिंह रहनुभएको छ । तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी २४ जना युवाहरुको सहभागिता रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस