सल्यान, २९ जेठ । दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले दार्मा गाउँपालिकाको समृद्धि अब दर्माली जनताकै काँधमा आएको बताउनुभएको छ । मंगलबार दार्माको फारुलाचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको शुभारम्भ गर्दै अध्यक्ष केसीले दर्माली जनताकै पसिनाबाट दार्माले समृद्धि हासिल गर्ने बताउनुभएको हो ।कार्यक्रममा बोल्दै अध्यक्ष केसीले अब स्थानीयस्तरमा सञ्चालन हुने हरेक आयोजनामा गाउँपालिकाकै श्रमशक्ति प्रयोग हुने बताउनुभयो । हरेक आयोजनामा स्थानीयकै सहभागिता गराई उनीहरुलाई आर्थिक लाभ हुने तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्य गाउँपालिकाले लिएको उहाँले बताउनुभयो । श्रम गर्नेलाई सम्मान गर्ने योजना गाउँपालिकाले लिएको धारणा राख्दै उहाँले भन्नुभयो “श्रम गर्नेलाई अब गाउँपालिकाले सम्मान गर्नेछ तर काममा लापरबाही गरी सार्वजनिक सम्पत्तिको हानी गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौँ ।”पहिले पहिले काम गर्नेलाई ‘कामी’ भनियो र गरीखानेलाई ‘गरीब’ तर अब नयाँ व्यवस्था आइसकेको भन्दै उहाँले हरेक श्रमिकको हातमा गाउँपाललिकाले गैँती, बेल्चा एवं औजारको व्यवस्था गर्ने बताउनुभयो । श्रमिकको बीमा एवं हितकोषको व्यवस्था गर्ने योजनामा आफूहरु लागेको बताउँदै अध्यक्ष केसीले गुणस्तरीय एवं दिगो विकास हुनेगरी काम गर्न सबैलाई आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले जनता समृद्धिको आधार भएको बताउँदै हरेक नागरिकमा देश विकासको अठोट हुनुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम जनमुखी कार्यक्रम भएको भन्दै उपाध्यक्ष शर्मा ओलीले काम गर्नेहरु कहिल्यै भोकै बस्नु नपर्ने बताउनुभयो । गाउँपालिकाले जनताको रोजगारीको लागि विभिन्न कार्यक्रमहरु तय गर्ने समेत उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुनले सबैभन्दा ठुलो उपलब्धी परिश्रमबाटै प्राप्त हुने विचार राख्नुभयो । देश बनाउने जिम्मा नागरिककै काँधमा आएको भन्दै अधिकृत पुनले आफ्नो रगत पसिना आफ्नै ठाउँमा सिञ्चित गरे गाउँ सुन्दर हुने बताउनुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिकाका वडा अध्यक्षहरुले विकास निर्माणलाई जनताको श्रमसँग जोड्ने कुराको व्यावहारिक कार्यान्वयन प्रधानमन्त्री रोजगार कार्यक्रम भएको धारणा राख्नुभएको थियो । कार्यक्रममा दार्मा गाउँपालिका वडा नं. १ का कार्यबाहक अध्यक्ष पुतला खड्का, वडा नं. २ का अध्यक्ष डिल्लीबहादुर केसी, वडा नं. ३ का अध्यक्ष सेतीराम रोकाहा, वडा नं. ५ का अध्यक्ष रामबहादुर केसी एवं वडा नं. ६ का अध्यक्ष दुर्गाबहादुर मल्लले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गाउँपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर रावतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । बिर्खबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दार्मा गाउँपालिकाका रोजगार संयोजक किरण गौतले गर्नुभएको थियो ।गाउँपालिकाले यस आर्थिक वर्षमा हरेक वडाबाट ३० जनाका दरले १ सय ८० जनालाई रोजगारी दिँदैछ । ६ वटै वडाबाट श्रमप्रधान आयोजना छनौट भई कार्यान्वयनको चरणमा रहेको रोजगार संयोजक किरण गौतमले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाले काममा जाने श्रमिकहरुका लागि हेल्मेट, ज्याकेट, मास्क लगायतका सुरक्षा सामग्रीका साथै गैँती, बेल्चा आदि निर्माण औजार समेत वितरण गरेको थियो ।काम गर्ने हरेक श्रमिकको ज्याला बापतको रकम बैंक खाता मार्फत भुक्तानी गरिने रोजगार संयोजकले जानकारी दिनुभएको छ । कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाहरुलाई दिगो एवं उपलब्धीमूलक बनाउन नियमित अनुगमन गरिने समेत उहाँले जानकारी दिनुभयो । दार्मा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सामुदायिक आयोजना सञ्चालनका लागि यस वर्ष सरकारले २९ लाख रुपैयाँ विनियोजन गरेको छ । जसको न्युनतम ७० प्रतिशत रकम श्रमिकको ज्यालामा खर्च हुने गरी आयोजना सञ्चालन कार्यविधि सरकारले ल्याएको छ । सोही अनुसार ७० प्रतिशत रकम मात्रै ज्यालामा खर्च भए पनि २० लाख ३० हजार रुपैयाँ दार्माका श्रमिकले पारिश्रमिक पाउनेछन् । गाउँपालिकाभर ४ हजार ५ सय ७ जनाले बेरोजगार फाराम भरेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस