हेकुली, १ असार । दङ्गीशरण गाउँपालिकाले आइतबार कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरेको छ । गाउँपालिकाले ७ वटै वडाबाट सिफारिस भई आएका आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त अनुदान खर्च गर्नेगरी आयोजना छनौट गरेको छ ।

Advertisements

यस आर्थिक वर्षमा गाउँपालिकाले एक सय ९१ जनालाई रोजगारी दिन लागेको दङ्गीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा काममा जाने श्रमिकहरुका लागि हेल्मेट, पञ्जा, मास्क, टिसर्ट लगायतका पोशाकहरु समेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भागीराम चौधरीले अब हरेक जनताको घरमा रोजगारको लागि अवसर आउने बताउनुभयो । बेरोजगार फाराम भरेका हरेक नागरिकलाई अबका दिनमा रोजगारीको लागि प्राथमिकताका आधारमा अवर दिइने बताउँदै उहाँले भनेको बेला काममा नआउने श्रमिकहरुलाई बेरोजगारको सूचीबाट हटाइने बताउनुभयो । जनताको प्रत्यक्ष सहभागितामा हुन लागेको कार्यक्रम गुणस्तरीय हुनुपर्ने धारणा राख्दै अध्यक्ष चौधरीले मिहिनेतका साथ काममा लाग्न काममा खटिएका श्रमिकहरुलाई आग्रह गर्नुभयो ।गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य भएको भन्दै महिलाले कमाएको रकम परिवारकै हितमा खर्च हुने बताउनुभयो । महिलाहरु व्यावहारिक एवं काममा प्रतिबद्ध हुने भन्दै उपाध्यक्ष खड्काले प्रधानमन्त्री रोजगार कार्यक्रमले जनताको गरिबी कम गर्नमा मद्दत पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन रोजगार स‌ंयोजक सन्तोष गिरीले गर्नुभएको थियो ।

दङ्गीशरण गाउँपालिकाका ७ वटा वडाबाट तीन हजार आठ सय ६२ जनाले बेरोजगारको फाराम भरेको गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले बताउनुभयो । गाउँपालिकाले सडक, सार्वजनिक भवन निर्माण तथा मर्मत, योग साधना भवन निर्माण, पार्क निर्माणलगायतका योजना छनौट गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि यस आर्थिक वर्षमा दङ्गीशरण गाउँपालिकामा १८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस