सल्यान, ७ असार । कर्णाली प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले स्थानीय तहलाई योजना बैंक निर्माण गरी अघि बढ्न सुझाव दिनुभएको छ । दार्मा गाउँपालिकाको पाँचौँ गाउँपरिषद्लाई सम्बोधन गर्दै मन्त्री ज्वालाले गाउँपालिकाको समुदायस्तरबाट छनौट भई आएका योजनाहरुलाई एकीकृत गरी तिनीहरुको योजना बैंक निर्माण गर्न गाउँपालिकालाई सुझाव दिनुभयो । त्यही योजना बैंकमा नै स्थानीय तहले योजनाहरुलाई प्राथमिकीकरण गरी राखेमा कार्यान्वयनमा सहजता आउने धारणा राख्नुभयो । प्राथमिकता पाउनुपर्ने योजना कार्यान्वयन हुन नसक्ने तर कम प्राथमिकताका योजना छनौटमा पर्दा जनता सेवा सुविधा पाउनबाट बञ्चित भएको उहाँको भनाइ थियो ।

योजना पाउन मरिहत्ते गर्ने तर कार्यान्वयनमा जाँदा वास्ता नगर्ने बानीले दिगो विकास हुन नसकेको भन्दै उहाँले योजनाहरुको प्राथमिकीकरण नगर्दा अत्यावश्यक योजना छुट्ने गरेको बताउनुभयो । साथै स्थानीय तहले आफ्नो पुँजीले कार्यान्वयन गर्न सकिने, प्रदेसको सहयोग आवश्यक, संघको सहयोग आवश्यक एवं समपुरकमा गर्न सकिने आयोजनाहरुको समेत अलग्गै सूची राखी सम्बन्धित सरकारबाट आयोजना कार्यान्वयनमा लगे विकास सही मार्गमा जाने बताउनुभयो ।सभामा बोल्दै मन्त्री ज्वालाले दीर्घकालीन रुपमा जनतालाई टेवा दिनेखालका कामहरुलाई महत्व दिन समेत स्थानीय सरकारलाई सुझाव दिनुभयो । विकास निर्माण गर्दा जनताको जीवनस्तरमा सुधार आउने र स्थानीयले प्रत्यक्ष रोजगारी पाउने खालका योजना छनौट हुनुपर्ने उहाँको धारणा थियो । प्रदेश सरकारले सडक निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै मन्त्री ज्वालाले ठुला योजना कार्यान्वयनका लागि प्रदेस एवं संघीय सरकारसँग माग गर्न आग्रह गर्नुभयो ।

यस आर्थिक वर्ष प्रदेस सरकारको पहिलो वर्ष भएकोले कानुन एवं कार्यविधिको अभाव हुँदा बजेट विनियोजनमा ढिला भए पनि आगामी आर्थिक वर्षमा कुनैखाले समस्या नआउने बताउनुभयो । सडक, सिचाईं, खानेपानीका योजना प्रदेसको उच्च प्राथमिकतामा परेको ज्वालाले बताउनुभयो । चाहे प्रदेस होस् वा संघ हरेक विकासको अनुभूति स्थानीय तहमै हुने भन्दै उहाँले तीनवटै सरकार अन्तर्सम्बन्धित भएको धारणा राख्नुभयो । तीन तहकै सरकारले एकअर्काको अस्तित्व स्वीकार गरी समन्वयात्मक ढङ्गबाट अघि बढ्न आवश्यक भएको उहाँको धारणा थियो ।

अब छोरीको जिम्मा सरकारले लिने बताउँदै उहाँले गर्भदेखि नै छोरीमाथि हुने अत्याचारको अन्त्य गर्न सरकारले ‘छोरी सुरक्षा कार्यक्रम’ सुरु गर्न लागेको बताउनुभयो । छोरी जन्मेदेखि २० वर्षसम्म उसको बैंक खाता खोली सरकारले रकम जम्मा गरिदिने उहाँले बताउनुभयो । छोरी सुरक्षा कार्यक्रम बालविवाह अन्त्यको अभियान भएको भन्दै उहाँले छोरीको शैक्षिक स्तर सुधार तथा बालविवाह अन्त्यका लागि कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्वालाले आफूहरु विभिन्न कुरीति अन्त्य गरी सामाजिक जागरण ल्याउने महाअभियानमा लागेको भन्दै कर्णाली प्रदेस पहिलो छुवाछुतमुक्त प्रदेस हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।

जनताबाट छानिएर आएका प्रतिनिधिहरुले १ पैसा पनि लोभ गर्न नहुने भन्दै उहाँले त्यसो गरिए त्यो धार्मिक रुपमा पाप अनि कानुनी अपराध भएको ठहर गर्नुभयो । गरिबी न्युनीकरण एवं श्रमको सम्मान गर्ने प्रमुख लक्ष्यका साथ अघि बढी जनताको दुःखसुखको सहारा बन्नुपर्ने भन्दै जनप्रतिनिधिहरुलाई जनताको घाउको मलहम बन्न आग्रह गर्नुभयो । जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाहरुलाई प्राथमिकतामा राख्न आग्रह गर्दै उहाँले नीति तथा कार्यक्रमका आधारमा बजेट तर्जुमा गर्न सुझाव दिनुभयो ।

गाउँसभालाई सम्बोधन गर्नुअघि मन्त्री ज्वालाले स्वागतका लागि कार्यक्रमस्थलमा उपस्थित जनताहरुलाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले प्रतिनिधि भएर आएको भन्दै सधैँ जनउत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस