सल्यान, ११ असार । सल्यान जिल्लाका संघीय सांसद एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले गाउँपालिकाको केन्द्र जोड्ने तथा रणनीतिक महत्वका ठुला सडकको जिम्मा संघीय सरकारले लिने बताउनुभयो । दार्मा गाउँपालिकाको पाँचौँ गाउँसभा तथा बजेट सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बस्नेतले सडक र विद्युत विस्तारको जिम्मा संघीय सरकारले लिने भन्दै यी शीर्षकमा गाउँपालिकाले आफ्नो बजेट खर्च गर्नु नपर्ने बताउनुभयो ।

आयोजनाहरुको डिपिआर गरी बढी लागत चाहिने आयोजना कार्यान्वयनका लागि संघ तथा प्रदेशमा पठाउन भन्दै सांसद बस्नेतले गाउँपालिकाले जनतालाई विकासको अनुभूति हुने खालको आयोजनामा बजेट छुट्याउन आग्रह गर्नुभयो । बजेटको अभावमा विकास नरोकिने भन्दै सांसद बस्नेतले पहुँचको आधारमा बजेट छुट्याइने परिपाटीको केही अवशेष विद्यमान भए पनि अब तिनीहरुको अन्त्य हुने धारणा राख्नुभयो । बजेट कार्यान्वयनमा सबै नागरिकहरुको प्रतिनिधित्व हुनेगरी गाउँपालिकाले बजेट ल्याउनुपर्ने उहाँको धारणा थियो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि २८ करोड १० लाखको अनुमानित बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाको चालु खर्चतर्फ ४ करोड ९४ लाख, सशर्त अनुदानमा १० करोड ३० लाख, समपुरक कोष १ करोड ५० लाख, भौतिक पूर्वाधार विकासमा ३ करोड ३४ लाख १० हजार, सामाजिक विकासतर्फ ३ करोड ६८ लाख ४० हजार रुपैयाँ छुट्याइएको छ । त्यसैगरी आर्थिक विकासका लागि २ करोड २० लाख, वन, वातावरण तथा बिपद् व्यवस्थापनका लागि २२ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ १ करोड ७६ लाख, बित्तीय व्यवस्थापनतर्फ १५ लाख रुपैयाँ बजेट गाउँसभामा पेश भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस