सल्यान, १२ असार । दार्मा गाउँपालिका सल्यानले आर्थिक वर्ष २०७६/०७७ का लागि २८ करोड १० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मङ्गलबार गाउँपालिकाको पाँचौँ गाउँसभामा उपाध्यक्ष टीका शर्मा ओलीले बजेट प्रस्तुत गर्नुभएको थियो ।

गरिवी न्यूनिकरण, रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा प्रत्यक्ष योगदान पुर्‍याउने योजनालाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । क्रमागत योजनाहरुलाई पूरा गर्नका लागि गाउँपालिकाले यस वर्ष पनि बजेटको व्यवस्था गरेको छ । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष ओलीले उत्पादनमूलक र छिटो प्रतिफल दिने, स्थानीय स्रोत, साधन, श्रम, सीप र प्रविधिमा आधारित योजनाहरु अघि सारिएको बताउनुभयो । बजेट वक्तव्यमा विभिन्न १० बुँदामा योजनाहरुलाई प्राथमिकीकरण गरिएको छ ।

युवालाई उद्यमी र कृषिलाई उद्यमको रुपमा विकास गर्ने, एक घर एक करेसावारी, एक बस्ती एक अर्गानिक खेती, एक वडा एक नमुना उत्पादन बनाउने एवं आर्थिक वर्ष २०७६/०७७ लाई शैक्षिक तथा सामाजिक सुधार वर्षका रुपमा विकास गर्ने मुख्य उद्देश्य बजेटले लिएको छ ।

गाउँपालिकाको चालु खर्चतर्फ ४ करोड ९४ लाख, सशर्त अनुदानमा १० करोड ३० लाख, समपुरक कोष १ करोड ५० लाख, भौतिक पूर्वाधार विकासमा ३ करोड ३४ लाख १० हजार, सामाजिक विकासतर्फ ३ करोड ६८ लाख ४० हजार रुपैयाँ छुट्याइएको छ । त्यसैगरी आर्थिक विकासका लागि २ करोड २० लाख, वन, वातावरण तथा बिपद् व्यवस्थापनका लागि २२ लाख ५० हजार, संस्थागत विकास तथा सुशासनतर्फ १ करोड ७६ लाख, बित्तीय व्यवस्थापनतर्फ १५ लाख रुपैयाँ बजेट गाउँसभामा पेश भएको छ ।

संघीय सरकारको समानीकरण अनुदान ८ करोड ३१ लाख, राजश्व बाँडफाँडबाट प्राप्त ६ करोड ५२ लाख, सशर्त अनुदानतर्फको १० करोड ३० लाख, प्रदेश सरकारको समानीकरण अनुदान १ करोड ९७ हजार, राजश्व बाँडफाँड ६ लाख ७९ हजार, गाँउपालिकाको आन्तरिक राजश्व २८ लाख ८१ हजार ३ सय र गत आर्थिक वर्षको खर्चहुन बाँकी १ करोड ६० लाख ४२ हजार ७ सय रुपैयाँ आम्दानीको मुख्य आधार बनाएको छ ।

गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले गाउँपालिकाले तय गरेको नीति तथा कार्यक्रमका आधारमा बजेट तयार गरिएको बताउनुभयो । गाउँसभामा व्यापक छलफल गरी जनतालाई तत्काल अनुभूति दिने खालका तथा गाउँपालिकाको आर्थिक एवं सामाजिक विकासमा सहयोग पुग्नेखालका योजनाहरुमा बजेट विनियोजन गरिने बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस