सल्यान, १ भदौ । दार्मा गाउँपालिका सल्यानले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगारहरुका लागि पुँजीगत बजेटबाट रोजगारीको अवसर सिर्जना गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुट्टै रकम आइनसकेको अवस्थामा गाउँपालिकाले आफ्नै आन्तरिक बजेटबाट रोजगारकिो अवसर सिर्जना गरेको हो ।

गाउँपालिकाको केन्द्र रहेको फारुला बजार सधैँ हिलाम्य हुने समस्या भएकोले गाउँपालिकाले बजार क्षेत्रको सडकमा नाला कटान गरी ढुङ्गा बिछ्याउने काममा श्रमिकहरु लगाएको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताउनुभयो । स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्न गाउँपालिकाले यो योजना ल्याएको उहाँले बताउनुभयो । हाललाई २ र ३ नम्बर वडाका बेरोजगारहरुलाई काममा लगाएको र बाँकी वडाका बेरोजगारहरुका लागि उनीहरुकै वडाका सडकहरुको छिट्टै प्राविधिकबाट लागत अनुमान गरी काममा लगाइने अध्यक्ष केसीले जानकारी दिनुभयो ।बजारको ५ सय मिटर सडकमा ढुङ्गा बिछ्याउन लागिएको दार्मा गाउँपालिकाका प्राविधिक प्रकाश खड्काले जानकारी दिनुभयो । बजारको मुख्य क्षेत्रमा नालाका साथै ढुङ्गा सोलिङ गरी त्यसमा मसिनो बालुवा हाली बाह्रै महिना सडकमा सहज रुपले आवतजावत गर्ने गरी काम गर्न थालिएको उहाँले बताउनुभयो । साथै बजारको केही भागमा ग्राभेल समेत गर्नेगरी लागत अनुमान गरिएको प्राविधिक खड्काले बताउनुभयो ।

सो कार्यका लागि १५ लाखको लागत अनुमान भएकोमा ९ लाख रुपैयाँ बेरोजगारहरुको ज्यालामा खर्च हुने प्राविधिक अनुमान छ ।गाउँपालिकाले अबका सम्पूर्ण सार्वजनिक योजना कार्यान्वयनमा सूचीकृत बेरोजगारहरुबाटै प्राथमिकता निर्धारण गरी काममा लगाउने उपाध्यक्ष टीका शर्मा ओलीले बताउनुभयो । साथै बेरोजगार सूचीमा सूचीकृत बेरोजगारहरुका लागि न्यूनतम १०० दिनको रोजगारीको ग्यारेन्टी गर्नेगरी गाउँपालिका अगाडि बढेको ओलीले बताउनुभयो । वैदेशिक रोजगारीलाई कम गरी आफ्नै गाउँठाउँको विकासमा स्थानीय जनशक्तिको प्रयोग गर्ने सोचका साथ गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याउने समेत उहाँले बताउनुभयो ।

कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लागेको दार्मा गाउँपालिकाका रोजगार संयोजक किरण गौतमले जनाउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतामा नयाँ उत्साह थपेको बताउँदै उहाँले आफ्नै ठाउँमा रोजगारीको अवसर पाउँदा जनतामा निकै उत्साह थपिएको उहाँले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस