सल्यान, २० भदौ । दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि अभियान चलाएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा सूक्ष्म अनुगमन अभियान लिई सम्पूर्ण विद्यालयहरुमा पुगेर शिक्षक, अभिभावक तथा विद्यार्थीहरुबीच अन्तक्र्रियात्मक कार्यक्रम गरिरहेको छ ।

सोही कार्यक्रम अन्तर्गत शुक्रबार वडा नं. २ स्थित श्री बाल कल्याण माध्यमिक विद्यालय भुवनटाकुरीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै विद्यालयकी छात्रा कल्पना हमालले विद्यालयमा शिक्षकहरुले नियमिक कक्षा नलिएको गुनासो गर्नुभयो । विद्यालयमा नियमित कक्षा नहुँदा पठनपाठन प्रभावित भएको उहाँको भनाइ थियो । त्यसैगरी पाठ्यक्रममा कम्प्युटर विषय भए पनि हालसम्म कम्प्युटर खोल्न र बन्द गर्न समेत आफूहरुले नजानेको हमालले बताउनुभयो । विद्यार्थीहरु समेत अनुशासनमा नरहेको भन्दै उहाँले भन्नुभयो “हामी आफै पनि अनुशासित छैनौँ, यसमा शिक्षक अनि अभिभावकले समेत ध्यान दिनुपर्छ ।”कक्षा १० मा अध्ययनरत छात्रा प्रतीक्षा चन्दले समेत विद्यालयमा राम्रो पढाइ हुन नसकेको बताउनुभयो । विद्यार्थीहरुले नजानेको कुरा सिक्नका लागि अतिरिक्त कक्षा माग गर्दा समेत त्यसको व्यवस्था हुन नसकेको उहाँले बताउनुभयो । होमवर्क दिएर पनि शिक्षकहरुले चेक नगर्ने गरेको उहाँको गुनासो थियो ।

विद्यालयकी अभिभावक चन्द्रकला केसी रोकायले विद्यालयमा हुने अनावश्यक राजनीतिले विद्यार्थीहरुको पढाइ प्रभावित हुने गरेको धारणा राख्नुभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकको बैठकमा समेत शैक्षिक विषयवस्तुबारे छलफल नहुनुले विद्यालयभित्र हुने गरेको राजनीति प्रष्ट भएको उहाँले बताउनुभयो । अर्का अभिभावक महेशकुमार विकले शैक्षिक मुद्दामा समेत सबै एकजुट नभएकोमा दुःख व्यक्त गर्नुभयो । विद्यालयमा हुने राजनीतिले विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेले एकले अर्कालाई आरोप लगाउनुभन्दा पनि सकारात्मक पक्षबाट समस्या समाधानतर्फ लाग्न आग्रह गर्नुभयो । शिक्षामा लगानी अनुसारको शैक्षिक उपलब्धी नदेखिएको भन्दै प्रमुख पाण्डेले शिक्षक, विद्यार्थी, अभिभावकको समन्वयमा मात्र सिकाइ उपलब्धीमा सुधार ल्याउन सकिने बताउनुभयो । समस्या सँगसँगै समाधान पनि आउने बताउँदै उहाँले शिक्षक, कर्मचारी सबैले दिइएको जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथि शिक्षा समिति संयोजक एवं गाउँपालिका अध्यक्ष निमबहादुर केसीले एकैपटक माथिल्लो तहमा शैक्षिक गुणस्तर सुधारको अपेक्षा भन्दा पनि जगदेखि नै विद्यार्थीको शैक्षिक गुणस्तर बढाउनुपर्ने धारणा राख्नुभयो । शिक्षामा राज्यको ठुलो लगानी हुँदा पनि नतिजा लाजमर्दो भएको उहाँको भनाइ थियो । समस्या देखाएर पन्छिन कसैलाई छुट नभएको भन्दै अध्यक्ष केसीले नीति निर्माणदेखि पूर्वाधार विकास एवं स्रोतसाधन सम्पन्न बनाई शैक्षिक गुणस्तर कायम गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । विद्यालयमा कुनै पनि खालको राजनीति सैह्य नहुने बताउँदै उहाँले विद्यालयका मुद्दाहरुमा राजनीति नगर्न र समुदायबीच आपसी छलफलबाट समस्या समाधान गर्न आग्रह गर्नुभयो । विद्यार्थीहरुले निःशुल्क पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

अभिभावकहरुले मदिरापान गर्दा बालबालिकाहरुलाई प्रत्यक्ष असर गरेको भन्दै सहभागीहरुले मदिरा निषेधित क्षेत्र बनाउन समेत सुझाव दिएका थिए । गाउँपालिका अध्यक्ष केसीले सहभागीहरुलाई मदिरा नखाने र अरु कसैलाई खान समेत नदिने प्रतिबद्धता गराउनुभएको थियो । पूर्वाधार अभावका कारण एउटै कोठामा दुईओटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता भएको विद्यालयका प्रधानाध्यापक कविकुमार चन्दले बताउनुभयो । उहाँले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । शौचालय अभाव, निजी स्रोतका शिक्षकहरुले न्यून पारिश्रमिकमा पढाउनु परेको, अतिरिक्त क्रियाकलाप नहुने जस्ता विभिन्न सवालहरुसमेत सहभागीहरुले उठाएका थिए ।

कार्यक्रममा गाउँपालिकास्तरीय अनुगमन समितिका सदस्य अनन्तप्रसाद शर्माले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र सिकाइ उपलब्धि प्राप्त हुने धारणा राख्नुभयो । विद्यार्थीको नतिजा उत्कृष्ट ल्याउन विद्यालय मात्र नभएर घर तथा समाजको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको उहाँको भनाइ थियो । कार्यक्रम वडा शिक्षा समितिका संयोजक तथा वडा अध्यक्ष डिल्लीबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन शैक्षिक संस्था पुनर्संरचना कार्यदलका सदस्य तुल्सी शर्माले गर्नुभएको थियो ।

गाउँपालिकाले सम्पूर्ण विद्यालयहरुमा पुगी त्यहाँ देखिएका समस्या तथा आएका सुझावहरुका आधारमा शैक्षिक गुणस्तर सुधारको प्रयास थालेको हो । हाल गाउँपालिकामा ५ वटा मावि, १० वटा निमाविसहित जम्मा ३४ वटा विद्यालय रहेका छन् । साथै भूगोल तथा विद्यार्थी सङ्ख्याका आधारमा समायोजन गर्नका लागि कार्यदल बनाई मर्जको तयारी समेत भएको गाउँपालिकाले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस