सल्यान, ८ असोज । दार्मा गाउँपालिका सल्यानको जनज्योति माध्यमिक विद्यालय फारुलाचौरले सामाजिक परीक्षण सम्पन्न गरेको छ । विद्यालयले बुधबार अभिभावकको भेला गरी सामाजिक परीक्षण गरेको हो ।

भेलाले विद्यालयले प्रस्तुत गरेको सामाजिक परीक्षण प्रतिवेदन विभिन्न सुझावसहति पारित गरेको छ । विद्यालयले २०७५ श्रावणदेखि २०७६ असारसम्मको शैक्षिक, भौतिक, आर्थिकलगायतका विभिन्न पक्ष समेटेको प्रतिवेदन पेश गरेको थियो ।कार्यक्रममा सहभागीहरुले शौचालयको थप व्यवस्था गर्नुपर्ने, विद्यालय हाताभित्र फुलबारी थप व्यवस्थित गर्नुपर्ने, विद्यार्थीहरुलाई गृहकार्यमा जोड दिनुपर्ने, तोकिएको समयमै शिक्षण सिकाइ कार्य पूरा गर्नुपर्ने, सिकाइ उपलब्धि बढाउनुपर्ने, शिक्षक, कर्मचारीलाई मापदण्ड अनुसारको तलब भत्ताको व्यवस्था गर्नुपर्ने, विद्यार्थी संख्या बढी भएका कक्षाहरुमा सेक्सन विभाजन गरी थप कक्षा सञ्चालन गर्नुपर्ने, विद्यालयको आर्थिक अवस्था सुदृढ गर्न सरोकारवालाहरुबीच छलफल गरी क्रियाशीलता बढाउने लगायतका सुझावहरुसहित प्रतिवेदन पास गरेका थिए । २०२१ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार ७ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले विद्यालयको शैक्षिक गुणस्तर सुधार एवं भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । गाउँपालिकाको २८ करोड बजेटमध्ये ११ करोड बजेट शिक्षामा विनियोजन भएको भन्दै उहाँले शिक्षामा गरिएको लगानी नै समृद्धिको आधार भएको बताउनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष समेत रहनुभएका केसीले विद्यालय व्यवस्थापन समितिले आवश्यकतामा ध्यानै नदिई शिक्षक भर्ना गर्नाले गाउँपालिकालाई थप आर्थिक भार थपिएको समेत उल्लेख गर्नुभयो ।गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि यस वर्ष कार्यक्रम केन्द्रित गरेको भन्दै उहाँले शैक्षिक गुणस्तर कायम गर्न सबै पक्ष एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो । विद्यालय समयभित्र मदिरा सेवन गर्ने शिक्षकलाई कडा कारबाही गर्ने नीति लिएको उहाँले प्रष्ट पार्नुभयो । विद्यालय समयबाहेक अभिभावकले बालबालिकालाई ध्यान दिए शैक्षिक गुणस्तर हासिल गर्न सहज हुने भन्दै उहाँले सम्पूर्ण अभिभावकहरुलाई घरमा बालमैत्री वातावरणमा ध्यान दिन आग्रह गर्नुभयो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेले गाउँपालिकाले प्रति विद्यार्थी १७ हजार बढी रकम लगानी गरेको भन्दै सिकाइ उपलब्धि लक्ष्य अनुरुप हासिल नभएको सङ्केत गर्नुभयो । शिक्षक विद्यार्थी अनुपात बढी भएका कारण सिकाइ उपलब्धि प्राप्त हुन नसकेका कारण गाउँपालिकाले विद्यालय मर्जको तयारी गरिरहेको समेत उहाँले बताउनुभयो । अभिभावकहरुबाट आएको सुझाव अनुरुप विद्यार्थीहरुको आँखा र कानको परीक्षण गरी कमजोर पाइएका विद्यार्थीलाई विशेष प्राथमिकताका साथ अध्यापन गराइनेतर्फ जोड दिइने उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर चन्द, विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र केसी, वडा नं. २ का अध्यक्ष एवं अभिभावक डिल्लीबहादुर केसी, गणेश ओली, भूतपूर्व शिक्षक अभिभावक संघका अध्यक्ष दीपक रोकायलगायत अभिभावकहरुले आफ्नो मन्तव्य तथा सुझाव दिनुभएको थियो ।कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष अनन्तप्रसाद शर्माको अध्यक्षतामा भएको थियो भने सञ्चालन विद्यालयका शिक्षक केशव शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस