सल्यान, ९ असोज । दार्मा गाउँपालिका सल्यानले गरिब, बिपन्न तथा दलित परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी ५२ घरधुरीका लागि सोलार सेट उपलब्ध गराएको हो ।

६ वटा वडा रहेको दार्मा गाउँपालिकामा वडा कार्यालयको सिफारिसका आधारमा सोलार वितरण गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख खुमबहादुर केसीले बताउनुभयो । सोलार पाता, २० वाटको ब्याट्रि सहित सम्पूर्ण सेट वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गरिब तथा बिपन्न परिवारमा उज्यालो पार्न गाउँपालिकाले सोलार वितरण गरेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण सधैँ अँध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै गरिबको झुपडीमा पनि सरकार पुगेको प्रत्याभूति दिलाउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले गाउँपालिकाले अँध्यारो रात गुजार्दै आएका बिपन्न परिवारमा उज्यालो ल्याएको बताउनुभयो । बिपन्नताका कारण अभाव झेल्दै आएका जनतालाई केही भए पनि यसले राहतको महसुस गराएको उहाँको धारणा थियो ।

सोलार वितरण कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका योजना शाखा प्रमुख खुमबहादुर केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस