चाक्लीघाट (दाङ), १५ कार्तिक । घोराही उपमहानगरपालिका वडा नं. २ चाक्लीघाटबासीले देशमा ठुलो परिवर्तन आइसक्दा पनि आफूहरुले त्यसको कुनै अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । वडा कार्यालयले आयोजना गरेको स्थानीय विकासका लागि सहभागितात्मक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्जुन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुमबहादुर बुढाले भौगोलिक विकटासँगै सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचार्ईं सबै सुविधाहरुबाट चाक्लीघाटबासी बञ्चित भएको भन्दै जनप्रतिनिधिहरुलाई त्यसका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

वडाले छुट्याएको रकमबाट सडकको ट्रयाक खुले पनि गाडी सञ्चालन हुन नसकेपछि स्थानीय जसबहादुर पुनले आफ्नै लगानीमा सडक मर्मत गरी गाडी सञ्चालन गरिरहेको दुखेसो पोख्नुभयो । ‘गाडी सञ्चालनका लागि पटक पटक पहल ग¥यौँ तर बाटोको समस्या देखाउँदै कसैले पनि गाडी चलाउन मानेनन्’ उहाँले भन्नुभयो ‘केही सीप नलागेपछि अहिले आफै गाडी किनेर चाक्लीघाटदेखि लमही नियमित सेवा दिइरहेको छु ।’ बेलदमार–चाक्लीघाट ट्रयाक खुलेको १६/१७ वर्ष भैसक्दा पनि यातायातका साधन चल्नेगरी सडक विस्तार हुन नसकेको स्थानीयको गुनासो थियो ।झण्डै ३०० घरधुरी रहेको चाक्लीघाट क्षेत्रमा एउटा आधारभूत विद्यालय रहेको छ जसमा ३ जनाको मात्र दरबन्दी छ । आन्तरिक स्रोत, दरबन्दी अभाव आदि समस्याका कारण विद्यालय सञ्चालनमा समेत कठिनाइ रहेको भन्दै आधारभूत विद्यालय चाक्लीघाटका प्रधानाध्यापक गिरिराज भण्डारीले विद्यालयमा दरबन्दी थप तथा भौतिक पूर्वाधार निर्माणतर्फ सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । ८ कक्षासम्म मात्र कक्षा सञ्चालन भएको हुँदा माध्यमिक तहको अध्ययनका लागि डेरा गरेरै रामपुर, घोराही, लमही बस्नुपर्ने चाक्लीघाटबासीको समस्या रहेको सहभागीहरुले बताएका थिए ।

सडक तथा विद्युतलाई पहिलो प्राथमिकतामा राखी चाक्लीघाटको विकासमा लागि पर्न स्थानीयले सांसदहरुलाई आग्रह गरेका छन् । चुनाव जितेर गएपछि कहिल्यै गाउँ नफर्किएको अतीत सम्झँदै उनीहरुले अहिले सांसदहरुलाई गाउँमा देख्दा खुसीका साथै आफ्ना समस्या हट्नेमा आसा पलाएको बताए ।

चाक्लीघाटको खुरुलेका टोपेन्द्र डिसीले खोलापारीका जनताले बर्षामा ठुलो समस्या झेल्नु परिरहेको बताउनुभयो । ‘न त फोनले काम गर्छ न त सडक नै भरपर्दो छ’ उहाँले भन्नुभयो ‘खोलामा पुल नहुँदा कोही बिरामी परे नजिकै लमही हुँदाहुँदै पनि घण्टौँ जङ्गलैजङ्गल हिँडेर घोराहीतर्फ जानुपर्ने बाध्यता छ ।

’कार्यक्रममा स्थानीयका गुनासालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य एवं कार्यक्रममा प्रमुख अतिथि मेटमणि चौधरीले चाक्लीघाटबासीका समस्यामा सरकार गम्भीर रहेको भन्दै यसलाई यथाशीघ्र सम्बोधन गरिने बताउनुभयो । आफूले सडकलाई पहिलो प्राथमिकता दिएको बताउँदै सांसद चौधरीले सडकपछि विद्युतलाई प्राथमिकतामा राखेर क्रमशः अन्य समस्याहरु समाधान गर्ने धारणा राख्नुभयो । चाँडै नै चाक्लीघाटदेखि बेलदमार तथा सुर्केडाँगीको सडकले पूर्णता पाउनेमा विश्वस्त रहन उहाँले आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै प्रदेस सांसद रेवतीरमण शर्मा घिमिरेले ३ वर्षभित्र हरेकको घरघरमा बिजुली पुग्ने बताउनुभयो । विकास सबैले अनुभूत गर्नेगरी गरिने भन्दै उहाँले प्राथमिकताका आधारमा योजना छनौट गरी पठाउन चाक्लीघाटबासीलाई आग्रह गर्नुभयो । त्यसैगरी संघीय सांसद विष्णु पौडेलले जनताका समस्यालाई चाँडोभन्दा चाँडो हल गर्नेमा आफूहरु केन्द्रित रहेको बताउनुभयो । चाक्लीघाटलाई चाँडै सदरमुकामसँग जोड्नेमा ढुक्क रहन आग्रह गर्दै उहाँले सडक र बत्तीलाई संघीय सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा घोराही २ का वडा अध्यक्ष केशवराज आचार्यले उपमहानगरपालिका भए पनि चाक्लीघाट निकै विकट रहेको भन्दै आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । भौगोलिक मात्र नभएर सडक, सञ्चार, खानेपानी, सिचाईं, पुल सम्पूर्ण दृष्टिले चाक्लीघाट विकट रहेको भन्दै उहाँले वडाको बजेटले मात्रै सबै गर्न नसक्ने अवस्था रहेको भन्दै प्रदेस तथा संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

स्थानीय सरकारले चुनौतिका साथ काम गर्दा समेत सोचेअनुसार काम गर्न नसकिएको उहाँको भनाइ थियो । उत्पादनमूलक बिघौँ जमिन भए पनि सिचाईको अभाव झेलिरहेको बताउँदै उहाँले कसैले नदेखेको स्वर्ग चाक्लीघाट भए पनि आधारभूत सुविधाबाट बञ्चित रहेको धारणा राख्नुभयो । चाक्लीघाटको विकासका लागि स्थानीय सरकारलाई संघ तथा प्रदेस सरकारको सहयोग अति आवश्यक रहेको उहाँले बताउनुभयो ।चाक्लीघाटको विकासका लागि अखण्ड टोल विकास संस्थाको तर्फबाट अध्यक्ष झविन्द्र पुन तथा सचिव विनबहादुर केसीले सांसद मेटमणि चौधरीलाई विद्युत विस्तार, सडकको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, सञ्चार, पुल लगायतका विकासका लागि बजेट विनियोजन गर्न ज्ञापन पत्र समेत बुझाउनुभएको थियो ।

कार्यक्रममा नेकपा दाङका कानुनी संयोजक मनोहर बुढाथोकी, नेकपा दाङका कार्यालय सदस्य सूरामणि बेलबासे, अनेरास्ववियु दाङका पूर्व अध्यक्ष माधव सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा सदस्य टार्जन खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन आधारभूत विद्यालय चाक्लीघाटका प्रधानाध्यापक गिरिराज भण्डारीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस