दार्मा, २२ कार्तिक । वर्षौंदेखि अँध्यारोमा रात कटाइरहेका दर्मालीहरु बुधबार साँझ जनज्योति मावि फारुलाचौरको प्राङ्गणमा नाचगानसहित रमाइरहेका देखिन्थे । लामो प्रतीक्षापछि बुधबार गाउँपालिकाको केन्द्र लगायत ५ वटा वडामा पुग्नेगरी विस्तार गरिएको विद्युत लाइनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गर्नुभएको थियो ।

दिउँसो २ वजे सुरु हुने भनिएको कार्यक्रमका सहभागी साँझ साढे ५ बजे कार्यक्रम सुरु हुँदा पनि उस्तै उत्साहका साथ कार्यक्रमस्थलमा मन्त्रीको प्रतीक्षामा थिए । मन्त्रीले बिजुलीको स्वीच थिचेसँगै स्थानीयहरु खुसीले नाचेका थिए । कार्यक्रमका लागि गाउँपालिकाका वडाबाट झाँकीसहितको टोली सहभागी थियो ।कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले अबको २ वर्षभित्र कर्णालीलाई अन्धकारमुक्त बनाइने घोषणा गर्नुभयो । मन्त्री पुनले सडक, विद्युत, खानेपानी, सिंचाइ जस्ता प्रत्यक्ष जनतासँग जोडिएका विषय सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

गाउँपालिकाको विद्युत विस्तार संघीय सरकारको लागि सानो योजना भए पनि जनताको लागि लामो प्रतीक्षाको फल भएको बताउँदै उहाँले यसले दर्माली जनतामा उत्साह थपेको बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थित कर्णाली प्रदेश नेपाल विद्युत प्राधिकरण प्रमुख तथा जिल्ला प्राधिकरण प्रमुखलाई विद्युत विस्तारमा तिब्रताका साथ काम गर्न निर्देशन दिनुभयो । ‘पोल गाडेकोमा तत्काल तार तान्नुस अनि तार तानेकोमा विद्युत वितरण गर्नुस्’ उहाँले भन्नुभयो ‘बाँकी के कति विद्युत नपुगेका स्थानहरु छन् योजना बनाएर सरकारलाई तत्काल पठाउनुस्, हामी बजेट छुट्याउँछौँ ।’संघीय सरकारको दृष्टि नपुगे पनि स्थानीय सरकारले जनताका आवश्यकता पूरा गरिरहेको बताउँदै उहाँले भन्नुभयो ‘स्रोत, साधन र दक्ष जनशक्तिको अभाव हुँदाहुँदै पनि स्थानीय सरकारको काम प्रभावकारी छ ।’ विगतमा पहुँचको आधारमा विकास हुने स्थिति संघीयता आएसँगै अन्त्य भएको बताउँदै उहँँले प्रादेसिक सन्तुलन कायम गरेर सरकारले विकास गरिरहेको धारणा राख्नुभयो । समृद्धिको अभियानमा सरकार रहेको भन्दै उहाँले अब गरिबीको रेखामुनी रहेकाहरुलाई पनि दुई छाक खान पाउने र आफ्नै घरमा बस्न पाउने अवस्थाको ग्यारेन्टी गरिने बताउनुभयो ।लिफ्ट, भूमिगत सिंचाइका योजना बनाई उत्पादकत्व बृद्धि गरिने भन्दै मन्त्री पुनले कृषि उपजमा आत्मनिर्भरका साथै निर्यातको आधार तयार गरिने बताउनुभयो । सल्यानमा सडक सञ्जाल विस्तारमा आफ्नो ध्यान तानिएको भन्दै उहाँले स्थानीय सरकारले ट्रयाक खोल्ने काम गरिसकेकोले अब संघीय सरकारले त्यसलाई कालोपत्रे गर्ने धारणा राख्नुभयो । मदन मण्डारी लोकमार्ग सल्यान भएरै जानुपर्ने भन्दै उहाँले त्यसमा आफ्नो पहल रहने बताउनुभयो ।

सल्यानका संघीय सांसद तथा पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले संघीय सरकारले विद्युतीकरण तथा सडक कालोपत्रेका योजनालाई महत्वका साथ कार्यान्वयन गर्ने धारणा राख्नुभयो । स्थानीय सरकारको पुँजीले नभ्याउने योजनालाई संघले कार्यान्वयन गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा स्थानीय कला, संस्कृति झल्कने नृत्य तथा गाउँपालिकाको आफ्नै गीत भएकोमा खुसी व्यक्त गर्दै उहाँले स्थानीय कला, संस्कृतिको संवद्र्धन गर्नुपर्ने बताउनुभयो ।कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले दार्मा गाउँपालिका सल्यानकै सबैभन्दा दुर्गम गाउँपालिका भए पनि निकै छिटो विकासको गति लिएको बताउनुभयो । सडक, सिंचाइ, स्वास्थ्यलाई प्रदेसले विशेष प्राथमिकता दिएको भन्दै उहाँले सबै विकासका कार्यमा प्रदेस सरकारको साथ रहने धारणा राख्नुभयो । सिंचाइका योजना चाँडो पूरा गरी कृषिमा आत्मनिर्भर बनाउन गाउँपालिकालाई उहाँले शुभकामना दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य उमाकान्त शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्ट, नेकपा सल्यानका अध्यक्ष गोविन्दकुमार पुन, नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेस प्रमुख वीरेन्द्र प्रकाश अग्रहरि, नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्द, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष रमेश मल्ललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।गाउँपालिका अध्यक्ष निमबहादुर केसीको अध्यक्षता तथा उपाध्यक्ष टीका शर्मा ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर रावतले गर्नुभएको थियो । कार्यक्रममा जनएकता युवा क्लबले स्वागत नृत्य प्रस्तुत गरेको थियो । उक्त अवसरमा सेरेङ्गे नाचलगायत स्थानीय कला, संस्कृति झल्कने विभिन्न गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । गाउँपालिकाले अतिथिहरुलाई दार्माको अग्र्यानिक उत्पादन तथा सल्यानी खुकुरी उपहार प्रदान गरेको थियो ।

संघीय सरकारको १ करोड ५२ लाख ५० हजार र स्थानीय सरकारको १ करोड १५ लाखमा गाउँपालिकामा बिजुली पुगेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । ६ वटा वडामा ३ हजार ६ सय ४० घरधुरी रहेकोमा वडा नं. ५ बाहेकका १ हजार ५ सय घरधुरीमा शाखा लाइन विस्तार पश्चात बिजुली पुग्ने उहाँले जानकारी दिनुभयो । हालसम्म ३३ घरधुरीले बिजुलीको मिटर लगेको गाउँपालिकाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस