सल्यान, ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष रमेश मल्लले अबको देशको नेतृत्व युवाले लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सल्यानले दार्मा गाउँपालिकाको फारुलाचौरमा आयोजना गरेको युवा भेला प्रशिक्षण तथा सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष मल्लले युवाहरुमा ऊर्जा एवं सिर्जनशील कर्म गर्ने दृढ इच्छा शक्ति भएको हुँदा युवा नेतृत्वको आवश्यकता भएको धारणा राख्नुभयो ।हरेक परिवर्तनमा युवाहरुले नै नेतृत्वदायी भूमिका खेलेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मल्लले युवा सहभागिता विना कुनै पनि आन्दोलन सफल नहुने धारणा राख्नुभयो । बेरोजगारी, अशिक्षा तथा अन्य थुप्रै कारणले युवाहरुमा बढिरहेको निरासा, पलायन र गलत बाटोमा लाग्ने अवस्थाबाट युवाहरुलाई रोक्न युवा संघले विशेष भूमिका खेल्नुपर्ने मल्लले बताउनुभयो ।

युवा संघले अबका युवाहरुलाई आत्मनिर्भर, स्वाभिमानी र समाजका लागि योगदान गर्न तयार हुने देशभक्त युवाहरु तयार गर्न प्रशिक्षित गर्नुपर्ने भन्दै मल्लले त्यसका लागि योजनाबद्ध कार्यक्रम र जागरण अभियानहरु गाउँ–गाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमका विशिष्ट अतिथि, नेकपा प्रदेश कमिटी सदस्य एवं दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले युवालाई विकासको मूल प्रवाहमा ल्याउन सके मात्र दिगो विकास सम्भव हुने बताउनुभयो । अधिकांश युवाहरु विदेश पलायन हुने स्थिति विद्यमान भएको बताउँदै केसीले आफूले हरेक क्षेत्रमा युवाको अगुवाइ चाहेको धारणा राख्नुभयो । गाउँपालिकाले युवाहरुका लागि क्षमता तथा सीप विकासका कार्यक्रमहरु समेत ल्याएको बताउँदै उहाँले युवाको सीप र जाँगरलाई स्थानीयस्तरमै लगाउन सके समृद्ध राष्ट्र निर्माणको आधार तयार हुने बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले युवाहरुले सही नेतृत्व र सही विचार बोकेर अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । युवाहरु कहिल्यै पनि प्रलोभनमा पर्न नहुने भन्दै उनीहरुले गलत प्रवृत्तिको विरोध गर्दै उद्देश्य प्राप्तिका लागि दृढ इच्छाशक्तिका साथ अघि बढ्न सुझाएका थिए । उक्त अवसरमा नेकपा जिल्ला कमिटी सदस्य अनन्तप्रसाद शर्मा, चन्द्रबहादुर रावत, पुतला खड्का, गणेशमान सिंह, नेकपाका नेताहरु शेरबहादुर पुन, ओमकार वली, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शोभाराम भण्डारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका जिल्ला संयोजक प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साविक युवा संघका जिल्ला अध्यक्ष रुपक बुढाले गर्नुभएको थियो ।सोही अवसरमा नेकपा दार्मा गाउँपालिका तथा राष्ट्रिय युवा संघले युवा तथा विद्यार्थी आन्दोलनमा विशेष योगदान पु¥याएको भन्दै युवा नेता रमेश मल्ललाई सम्मान गरेको थियो । युवाहरुलाई सही नेतृत्व प्रदान गर्न र परिवर्तनका मोर्चाहरुको अगुवाई गरेको भन्दै पार्टी तथा संघले उहाँलाई सम्मान गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस