दार्मा, २० मङ्सिर । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकामा सेवारत महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । १६औँ राष्ट्रिय महिला स्वयंसेविका दिवसका अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखाले २७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको हो ।

‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ गाउँपालिकाले दिवस मनाएको थियो । कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयंसेविकाले आमा समूहलाई सक्रिय बनाउन आर्थिक स्रोतको व्यवस्था गर्नुपर्ने, तालिम लिन नपाएका स्वास्थ्यस्वयंसेविकाका लागि तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सूचना प्रवाहमा सहजता ल्याउनका लागि मोबाइल वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले यस वर्षलाई शैक्षिक तथा सामाजिक सुधार वर्षका रुपमा लिएको बताउँदै यसको कार्यान्वयनका लागि आमा समूह बढी क्रियाशील हुनुपर्ने बताउनुभयो ।

पूर्ण सरसफाई, बालविवाह मुक्त समाज निर्माण लगायतका विषयमा चुनौति देखिएको भन्दै उहाँले मदिरा उत्पादन, बिक्री वितरण तथा सेवनलाई पूर्ण रुपमा बन्देज गरिने बताउनुभयो । मदिरा सेवनकै कारण सामाजिक वातावरण खल्बलिएको बताउँदै उहाँले त्यसलाई नियन्त्रण गरी नमुना वडा बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो । महिला स्वास्थ्य स्वयंसेविकाले गरिरहेको सेवाको उच्च प्रशंसा गर्दै उहाँले स्वास्थ्य स्वयंसेविका तथा आमा समूहले उदाहरणीय काम गरिरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टीका शर्मा ओलीले सेवाको भावना लिएर अघि बढे मात्र समाज उदाहरणीय बन्ने बताउनुभयो । सबै आफ्नो कर्तव्यप्रति जिम्मेवार बन्नुपर्ने धारणा राख्दै उहाँले सबै मिले समाजलाई नमुनायोग्य बनाउन सकिने बताउनुभयो । सामाजिक विकास समितिका अध्यक्ष चन्द्रबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी, स्वास्थ्य स्वयंसेविकाहरु भीमलादेवी चन्द, सुनिता चन्द केसी, सीता चन्दलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दार्माकोट स्वास्थ्यचौकी प्रमुख आकाश चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर चन्दले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस