घोराही, २० मंसिर । घोराही उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले लैंगिक समानता घर परिवारबाटै हुन आवश्यक रहेको बताउनुभएको छ । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले लैंगिक हिंसाबिरुद्ध जोडि अन्तरक्रिया कार्यक्रममा कार्यबहाक प्रमुख न्यौपानेले हिंसाको जड परिवारमै रहेको भन्दै विभेद परिवारबाटै हटाउन आवस्यक रहेको बताउनुभएको हो ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित कार्यक्रममा उहाँले घर परिवारबाटै समानताको सन्देश फैलाउनु पर्नेमा जोड दिनुभयो । महिला पुरुषका नाममा वा कुनै पनि कमजोरीका आधारमा विभेद गर्नुले हिंसाको रुप लिने उल्लेख गर्नुभयो । घरेलु हिंसालाई रोक्न परिवारबाटै इमान्दारिता कायम गर्नुपर्ने र अन्य जघन्य अपराधलाई रोक्न सचेतनासँगै कानुन कार्यान्वयनमा उहाँले जोड दिनुभयो ।

नगरका १९ वटै वडाबाट प्रतिनिधिमूलक श्रीमान् श्रीमतीको जोडीलाई भेला गराइएको हो । परिवारका सदस्यमा बिश्वास हुनुपर्ने र कुनै पनि विवादलाई छलफलबाट निराकरण गर्न सके मात्रै हिंसा रोकिने पनि उल्लेख गर्नुभयो । साथै जघन्य अपराधमा दोषीलाई कानुन अनुसार कार्वाही हुनै पर्नेमा उहाँले जोड दिनुभयो ।

सामाजिक विकास शाखाका संयोजक पशुपती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख मोतीकुमारी विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतम लगायतकाले लैंगिक हिंसा रोक्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस