सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानले स्वास्थ्य चौकीबाट प्रवाह भइरहेको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अन्तक्र्रिया कार्यक्रम गरेको छ । स्वास्थ्यचौकी दार्माकोटमा गरिएको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले स्वास्थ्यचौकीबाट हाल दिइरहेका सेवामा थप गरी अझ प्रभावकारी बनाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिकाका तीनवटै स्वास्थ्य चौकीमा ल्यावसहितको सेवा सञ्चालनमा ल्याएको बताउँदै स्वास्थ्यचौकी नभएको वडामा सामुदायिक स्वास्थ्य केन्द्रमार्फत सेवा दिइरहेको बताउनुभयो । नागरिकको स्वास्थ्यमा सरकार गम्भीर रहेको धारणा राख्दै उहाँले जटिल प्रकृतिका समस्या समेत हेर्ने गरी पालिकास्तरमा प्रसूति गृह सञ्चालनको तयारी भएको जानकारी दिनुभयो । कुनै एउटा संस्थालाई मात्र नभई सबै स्वास्थ्य संस्थालाई समान ढङ्गले स्रोत साधन सम्पन्न गराउने उद्देश्य रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा नागरिक अगुवा रत्नबहादुर वलीले स्वास्थ्य संस्थाबाट दिइने सेवा, सुविधाबारे नागरिकलाई जानकारी हुनुपर्ने धारणा राख्नुभयो । नागरिकहरुमा सरकारी स्वास्थ्य संस्थाभन्दा मेडिकललाई बढी विश्वास गर्ने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न सरकारी स्वास्थ्य संस्थाबाट दिइने सेवा सुविधालाई समयानुकूल बनाउनु पर्ने उहाँको भनाइ थियो । त्यसैगरी कार्यक्रममा उपस्थित सेवाग्राहीहरुले प्रसूति सेवामा आमा र बच्चाको स्वास्थ्यमा जतिबेला पनि समस्या आउन सक्ने बताउँदै अक्सिजन सहितको थप सेवाहरु उपलब्ध गराउन आग्रह गरेका थिए । साथै गाउँघर क्लिनिक सबैलाई पायक पर्ने स्थानमा राख्न समेत सुझाव दिएका थिए ।

गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले स्वास्थ्यकर्मीहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गर्नुभएको थियो । महिलाले गरेको स्वयंसेवाको उचित मूल्याङ्कन समेत हुनुपर्ने भन्दै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको त्याग सबैले सम्झनुपर्ने धारणा राख्नुभयो ।कार्यक्रम दार्माकोट स्वास्थ्यचौकी सञ्चालन समितिका अध्यक्ष कविकुमार चन्दको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा स्वास्थ्यचौकी प्रमुख आकाश चन्दले चालु आवको खोप, सुरक्षित मातृत्व, पोषण कार्यक्रम, परिवार नियोजनलगायत स्वास्थ्यचौकीको समग्र प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्ना समस्याहरुबारे जानकारी गराएका थिए । सेवा सुविधा विना नै नागरिकको सेवामा खटिँदा समेत आफूहरुलाई समाजमा जागिरेझैँ हेर्ने र होच्याउने गरेको बताउँदै स्वयंसेविकाहरुले सम्मानित ढङ्गले सेवा प्रवाह गर्न गाह्रो भएको बताएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले आएका समस्याहरुलाई यथाशीघ्र समाधानतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । आएका सुझावहरुलाई प्राथमिकतामा राखी थप सेवाको प्रबन्ध मिलाउने उहाँले आश्वासन दिनुभयो । उपचारात्मक विधिलाई अन्तिम विधिका रुपमा लिन आग्रह गर्दैैै उहाँले सामान्य अवस्थामा औषधि सेवन गर्नुभन्दा रोकथामका विधितर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस