दार्मा, २९ पुस । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका विभिन्न तीन स्थानमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरेको छ । साविकका भल्चौर, ढाकाडाम, दार्माकोट गाविसलाई आधार बनाएर सेवा केन्द्र स्थापना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो ।

गाउँपालिकाले पुस २३ गते दार्मा गाउँपालिका वडा नं. ४ भल्चौरबाट सेवा आरम्भ गरी हाल तीनवटै स्थानबाट सेवा दिइरहेको छ । संघीयताको मर्म र भावना अनुरुप किसानको घरदैलोमै सेवा दिने लक्ष्यका साथ सेवा केन्द्र स्थापना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।सेवाकेन्द्रको औपचारिक उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले किसानहरुलाई खेती तथा पशुपालन गरी आयआर्जन बृद्धि गर्ने लक्ष्यका साथ सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । उद्घाटनमा बोल्दै अध्यक्ष केसीले कृषि तथा पशुपालनलाई परम्परागत नभई व्यावसायिक रुपमा अबलम्बन गर्न आग्रह गर्नुभयो । कृषि तथा पशुपालनको यथेष्ट सम्भावना भएको भन्दै अध्यक्ष केसीले यसको आधुनिकीकरण गरिनुपर्ने धारणा राख्नुभयो ।

सेवा केन्द्रबाट खेती प्रविधि तथा शपुपालनसम्बन्धी परामर्श, प्राविधिक सहयोग, बीउबिजन, जैविक विषादी, कृषकका आवश्यकताका आधारमा विभिन्न सेवाहरु, पशु उपचार, औषधि, पशु बन्ध्याकरणलगायतका सेवाहरु प्रदान गरिने पशु प्राविधिक डिल्लीबहादुर वलीले जानकारी दिनुभयो ।गाउँपालिकाले तीन स्थानमा कृषि तथा पशुका लागि छुट्टाछुट्टै सेवा केन्द्र स्थापना गरेको छ । आगामी दिनमा किसानहरुका माग सङ्कलन गरी थप सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ सेवा केन्द्र सञ्चालनमा ल्याएको पशु सेवा शाखा प्रमुख हस्तराम खड्काले बताउनुभयो । सेवा केन्द्रमा साविक एक गाउँ एक प्राविधिक कार्यक्रम अन्तर्गतका दक्ष प्राविधिकहरु खटाइएको गाउँपालिकाले जनाएको छ ।

सेवा केन्द्र स्थापनासँगै स्थानीय कृषकहरु हर्षित भएका छन् । सेवा केन्द्र स्थापना भएकोमा खुसी व्यक्त गर्दै दार्मा गाउँपालिका कृषक समूह महासंघका अध्यक्ष रत्नबहादुर वलीले किसानहरुको मागलाई ढिलै भए पनि सम्बोधन गरिएको बताउनुभयो । वास्तविक किसानहरुको पहुँचमा कृषि ऋण र अनुदानका कार्यक्रम नपुगेको गुनासो गर्दै उहाँले त्यसलाई लक्षित वर्गसम्म पु¥याउनु पर्ने बताउनुभयो । कृषि उपजहरुले बजार नपाएको भन्दै उहाँले स्थानीय सरकारले बजारीकरणका लागि उचित पहल गर्नुपर्ने बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस