तिर्थराज ज्ञवाली

मसुरीया (देउखुरी दाङ), १० माघ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाले हात्तिपाइले रोग विरुद्ध आम नागरिकलाई सहज र सरल तवरले औषधि सेवन गराउका लागि सरोकारवालाहरुसंग छलफल गरेको छ । हात्तिपाइले रोग विरुद्ध औषधि खुवाउने दिन नजिकिदै गर्दा योजना निर्माण तथा गत वर्षको उपलब्धीबारे समीक्षाको लागि सरोकारवालाहरुसँग छलफल गरिएको हो ।

शुक्रबार राप्ती गाउँपालिकामा भएको कार्यक्रममा हात्तिपाइले रोगका बारेमा जानकारी दिइनुका साथै हाल यसको विश्वब्यापी तथा नेपालमा रहेको भयावह अवस्थाका बारेमा जानकारी दिइएको थियो । हात्तिपाइले रोगको कारण, देखिने लक्षण, रोकथामका उपाय तथा औषधि सेवनको प्रक्रियाका बारेमा सरोकारवालाहरुसँग छलफल समेत गरिएको छ ।

राप्ती गाउँपालिकामा विगतका वर्षहरुमा हात्तिपाइले रोगको अवस्था र निदानका लागि गरिएको प्रयासका बारेमा जानकारी दिँदै राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले यही माघ २५ गतेदेखि सुरु हुने हात्तिपाइले रोग विरुद्धको औषधि खाने/खुवाउने अभियान सफल पार्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्यका हात्तिपाइले रोग विरुद्धका फोकल पर्सन कमल चन्दले समग्र रोगको बारेमा जानकारी दिनुभएको थियो ।

क्लुलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाइले रोगका कारण हातखुट्टा सुन्निने, स्तन अण्डकोष सुनिने र रोग लागेपछि निको नहुने र नियमित आवस्यकता अनुसार औषधि सेवन गर्नाले र लामखुट्टेबाट बच्न सकियो भने हात्तिपाइले रोगबाट बच्च सकिन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस