घोराही, १३ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गतेदेखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को चौथो दिनमा आइपुग्दा दर्शकहरुको आकर्षण बढिरहेको छ । तेस्रो दिनको तुलनामा चौंथो दिन सोमवार दर्शहरुको संख्या निकै बढेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक श्रीधर महराले जानकारी दिनुभयो ।

‘अघिल्ला दिनहरुभन्दा महोत्सवप्रति दर्शकहरुको आकर्षण बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा थप दर्शकहरुको आकर्षण बढ्ने हामीले अपेक्षा गरेका छौं ।’ महोत्सवमा तेस्रो दिन कलाकारहरु सन्दिप न्यौपाने र रुपा घर्ती मगरले दर्शकलाई जुरुक्कै उचाल्नेगरी दोहोरी गीत प्रस्तुत गरेका थिए । ‘माया पानको पात, मायालुलाई सम्झन्छु दिनको रात’ भन्ने भाकामा न्यौपाने र घर्तीले गीत गाउँमा चेम्वरका उपाध्यक्ष बलदेव योगी मञ्चमै पुगेरै छमछमी नाच्नुभएको थियो ।

दोहोरीको टुक्कामा योगीको नाम लिदै कलाकारहरुले घमसाघमसी गीत गाएपछि दर्शकहरु छमछमी नाचेका थिए । मंगलवार राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, कला लम्साल, रमेशराज भट्टराई, रुपा घर्ती मगर, विजय पुनका साथमा स्थानीय थुप्रै कलाकारहरुले प्रस्तुति देखाउने छन् ।

महोत्सवमा कृषिका स्टलहरु हेर्नेहरुको संख्या बढी रहेको महासचिव टीकादत्त खनाल ‘सागर’ ले जानकारी दिनुभयो । कृषिले राखेको स्टलमा स्थानीय बदिया भाले बिक्रीका लागि राखिएको छ ।

अपेक्षा भन्दा राम्रो ढंगले महोत्सव सञ्चालन भइरहेको कोषाध्यक्ष विकास अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिसिद्धेश्वरी यातायातले महोत्सवमा आउन चाहनेहरुलाई घोराही उपमहानगरपालिका आसपास क्षेत्रबाट भाडामा १५ प्रतिशत सहुलियतको व्यवस्था गरेको छ ।

महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन तथा उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने चेम्बर अफ कमर्सका सचिव एवम् प्रचारप्रसार समिति सचिव कुमारराज श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस