सल्यान, १६ माघ । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले ८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका अभिभावकहरुलाई सम्मान गर्नुभएको थियो ।

Advertisements

बाबु आमाको मृत्यु तथा अन्य विभिन्न कारण अनाथ बनेका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेकोमा काँशे खत्री, लवे खत्री, बटौरी कामी, ठगे डाँगी, दिपे खत्री, चन्द्रे दमाई, टेकबहादुर कामी र तिली कामीलाई सम्मान गरिएको थियो । बालबालिकाको पढाइलाई सहज बनाउन शैक्षिक सामग्री तथा नगद समेत प्रदान गरिएको थियो ।

विक बने सर्वोत्कृष्ट वर्ष विद्यार्थी

गाउँपालिकाले पालिकाअन्तर्गत रहेका विद्यालयहरुबाट उत्कृष्ट वर्ष शिक्षक, विद्यार्थी र कर्मचारीलाई समेत सम्मान गरेको छ । उक्त अवसरमा दार्मा गाउँपालिकाका सम्पूर्ण विद्यालयबाट लक्ष्मी आधारभूत विद्यालयका विजय विक सर्वोत्कृष्ट वर्ष विद्यार्थी हुनुभएको छ । त्यसैगरी प्रशंसा चन्द, सुजाता ओली, निर्माण खड्का, अनिता केसी, विश्वास विक उत्कृष्ट वर्ष विद्यार्थी हुनुभएको छ । उत्कृष्ट विद्यार्थीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।गाउँपालिकाका विद्यालयबाट सर्वोत्कृष्ट वर्ष शिक्षकका रुपमा विश्वेश्वर आधारभूत विद्यालयका बुद्धिमान वली, उत्कृष्ट वर्ष शिक्षकमा लक्ष्मी आधारभूत विद्यालयकी हिरा केसी, नवजागरण प्राथमिक विद्यालयका जगबहादुर केसी, उत्कृष्ट वर्ष बालविकास शिक्षकमा जनज्योति माध्यमिक विद्यालयकी आशा चन्दलाई सम्मान गरिएको थियो । त्यसैगरी जनशिशु प्राथमिक विद्यालयका ढालबहादुर रानालाई उत्कृष्ट वर्ष कर्मचारीका रुपमा सम्मान गरिएको थियो ।

उक्त अवसरमा आधारभूत तहस्तरीय लघुनाटक प्रतियोगिता समेत भएको थियो । जसमा विश्वेश्वर आधारभूत विद्यालयको समूह प्रथम, सूर्योदय माध्यमिक विद्यालयको समूह द्वितीय र लक्ष्मी आधारभूत विद्यालयको बालबालिकाको समूह तृतीय भएको थियो । प्रतियोगितामा विजयी समूहलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।दार्मा गाउँपालिका सामाजिक विकास समिति संयोजक चन्द्रबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा शैक्षिक संस्था पुनर्संरचना समितिका तुलसी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस