दार्मा, २६ माघ । दार्मा गाउँपालिका सल्यानले वडा नं. ३ को धुलखर्कमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको छ । स्वास्थ्य चौकी पुग्न टाढा हुने वस्तीका नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिनका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ६ वटा वडामध्ये ३ वटा वडामा स्वास्थ्यचौकी रहेका छन् भने बाँकी ३ वटा वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिन लागेको हो ।

स्वास्थ्य केन्द्रको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि निमबहादुर केसीले स्वास्थ्य केन्द्र औषधि वितरण गर्ने ठाउँ मात्रै नभएर स्वस्थ रहनका लागि नागरिकहरुलाई चेतना दिने स्थान समेत भएको बताउनुभयो । जनतालाई कसरी स्वस्थ रहन सकिन्छ भन्ने सिकाउनु नै यसको मुख्य उद्देश्य भएको उहाँले बताउनुभयो । जनताको घर आँगनबाट स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यचौकी नभएका ३ वटा वडाहरुमा गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रमार्फत सेवा आरम्भ गर्न लागेको उहाँको भनाइ थियो । सामान्य अवस्थामा पनि औषधि खानैपर्छ भन्ने मान्यतालाई अन्त्य गर्न आधारभूत स्वास्थ्य केन्द्र लाग्ने भन्दै अध्यक्ष केसीले रोगको प्रतिकारात्मक सेवा उपलब्ध गराउने र अन्तिम विकल्पका रुपमा मात्र उपचारात्मक विधि अबलम्बन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले गाउँपालिकाका पिछडिएको वस्तीमा आधारभूत सेवा केन्द्रित गरिरहेको बताउनुभयो । हरेक नागरिकले विकासको अनुभूति गर्न पाउनेगरी आफूहरुले योजनाहरुको प्राथमिकीगरण गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । उक्त अवसरमा वडा नं. ६ का अध्यक्ष दुर्गाबहादुर मल्ल, जग्गादाता खलबहादुर राना, भूपाल चन्दलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पूर्णबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लोकतान्त्रिक आधारभूत विद्यालयका विद्यार्थीहरुले स्वागत गीत गाएका थिए । वडा नं. ३ का अध्यक्ष सेतिराम रोकाहाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हिरालाल नेपालीले गर्नुभएको थियो । कार्यक्रममा सिस्ने हिमाल स्वास्थ्य आमा समूह तथा लोकतान्त्रिक आधारभूत विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

आधारभूत स्वास्थ्य केन्द्र धुलखर्कबाट दार्मा गाउँपालिका वडा नं. ३ का बस्तीका साथै कुमाख गाउँपालिका ५ नं. वडाका बासिन्दाको समेत स्वास्थ्य सेवामा सहज पहुँच पुग्नेछ । स्वास्थ्य केन्द्रमा एकजना अनमी तथा एकजना अहेबले स्वास्थ्य सेवा उपलब्ध गराउने छन् । स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ३८ लाख रुपैयाँ विनियोजन भई टेण्डरको प्रक्रियामा रहेको छ । भवन निर्माणका लागि स्थानीय ओजबहादुर चन्द, भागीराम राना, खलबहादुर रानाले जग्गा उपलब्ध गराउनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस