दार्मा, २७ माघ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताउनुभएको छ । गाउँपालिकाको वडा नं. ५ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष केसीले सरकार नागरिकको स्वास्थ्यप्रति सधैँ सचेत रहेको समेत बताउनुभयो ।

गाउँपालिकाको विकट वडाका रुपमा रहेको वडा नं. ५ का नागरिकहरुको आर्थिक तथा सामाजिक दुवै पक्षको विकासमा सरकार गम्भीर रहेको अध्यक्ष केसीले बताउनुभयो । सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेकै स्वास्थ्य भएको जिकिर गर्दै उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, सडकलगायतका सम्पूर्ण विकासलाई क्रमशः गाउँपालिकाले नागरिकहरुको घरदैलोमा पु¥याउने बचनबद्धता व्यक्त गर्नुभयो । चुनावी घोषणालाई आफूले नभुलेको भन्दै उहाँले सम्पूर्ण चुनावी वाचाहरु पूरा गर्न आफू निरन्तर क्रियाशील रहेको धारणा राख्नुभयो । घ्यू बेचेर रक्सी खाने बानीको अन्त्य गर्न समेत अध्यक्ष केसीले सहभागीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले बालबालिकाका साथै गर्भवती महिलाहरुको खानपानमा ध्यान दिन आग्रह गर्नुभयो । जाँड, रक्सीले मानिसको स्वास्थ्यमा गम्भीर समस्या ल्याउने हुँदा त्यसलाई निषेध गर्नुपर्ने भन्दै उपाध्यक्ष ओलीले आमा समूहलाई मदिरामुक्त वडा निर्माणमा अगुवाई गर्न आग्रह गर्नुभयो ।

नागरिकहरुलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउनु नै प्रमुख उद्देश्य रहेको भन्दै वडा नं. ५ का अध्यक्ष रामबहादुर केसीले स्वास्थ्य इकाइका लागि आवश्यक जग्गा दान गर्न स्थानीयलाई आग्रह गर्नुभयो । सबैलाई पायक पर्ने स्थानमा स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने भएको हुँदा सो क्षेत्रका बासिन्दालाई जग्गाका लागि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रम वडा नं. ५ का अध्यक्ष रामबहादुर केसीको अध्यक्षतामा भएको थियो भने सञ्चालन स्वास्थ्य शाखाका यज्ञबहादुर खड्काले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस