दार्मा, ४ फागुन । दार्मा गाउँपालिका सल्यानले भारतको गौरीकुण्ड घटनामा परी ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रम गरी घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई जनही १५ हजारका दरले राहत रकम उपलब्ध गराएको हो ।

रोजगारीको सिलसिलामा भारत गएका ३१ जनाको गौरीकुण्डमा २०७० असार २ र ३ गते आएको बाढीमा परी ज्यान गएको थियो । गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष टीका शर्मा ओली, निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले संयुक्त रुपमा घटनाबाट पीडित परिवारका सदस्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निमबहादुर केसीले अभिभावक गुमाएको पीडा कम गर्न नसके पनि गाउँपालिकाले थोरै मलहम लाउने प्रयास गरेको बताउनुभयो । स्थानीयस्तरमा रोजगारी नहुँदा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नसके यस्ता पीडा भोग्नु नपर्ने भन्दै अध्यक्ष केसीले आफ्नै ठाउँमा श्रम गर्ने वातावरण आफूहरुले निर्माण गर्न लागेको बताउनुभयो । उद्यमशीलता र कृषिलाई व्यावसायिक रुपमा अपनाउन आग्रह गर्दै उहाँले आफ्नै ठाउँमा पसिना बगाउनुपर्ने धारणा राख्नुभयो ।

गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले अनाथ, अभिभावकविहीन तथा घटनापीडितहरुलाई निःशुल्क पठनपाठनको व्यवस्था तथा परिवारहरुलाई रोजगारीमा आफूहरुले प्राथमिकता दिएको बताउनुभयो । परिवारको अभिभावक गुमाउँदा सम्पूर्ण आश्रित परिवारको बिचल्ली भएको भन्दै उहाँले त्यस्ता परिवारहरुलाई सीप, उद्यम तथा रोजगारीमा प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका कानुनी सल्लाहकार इन्द्रबहादुर भण्डारीले गर्नुभएको थियो ।सोही अवसरमा गौरीकुण्ड घटना पीडित परिवारले टेकबहादुर विकको अध्यक्षतामा ‘गौरीकुण्ड घटना पीडित परिवार समिति’ समेत गठन गरेको छ । जसको उपाध्यक्षमा रुपा खत्री, सचिवमा डिला मल्ल, कोषाध्यक्षमा कमला केसी ओली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा जयबहादुर खड्का, लाली ओली, सोविराम खत्री, कविता जैसी, दुर्पती दमाइ र विमला राना रहनुभएको छ ।

समितिले स्थानीय सरकारसँग पीडित परिवारका लागि आयआर्जन बृद्धिका कार्यक्रम, सीपमूलक तालिम तथा अन्य आवश्यक सहयोगका लागि समन्वय गर्ने निर्णय गरेको अध्यक्ष टेकबहादुर विकले जानकारी दिनुभयो । गाउँपालिकाले गरेको सहयोगले आफूहरुलाई ठुलै परिवर्तन नल्याए पनि भावनात्मक रुपमा अभिभावकको अनुभूति दिलाएको धारणा राख्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस