दार्मा, १६ फागुन । दार्मा गाउँपालिका सल्यानमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । दार्मा गाउँपालिका वडा नं. ३ स्थित जनज्योति मावि फारुलाचौरको खेल मैदानमा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले खेलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले खेल जित र हारको प्रतिस्पर्धा मात्र नभएर मानिसलाई अनुशासित र स्वस्थ बनाउने कार्य समेत भएको बताउनुभयो । व्यक्तिको शारीरिक, मानसिक स्वास्थ्य सन्तुलित राख्न समेत खेलको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । निरन्तर अभ्यासले मात्र सफलता प्राप्त गर्न सकिने बताउँदै प्रमुख जिल्ला अधिकारी पोख्रेलले सफलता प्राप्तिका लागि सधैँ आफ्नो उद्देश्यमा केन्द्रित रहन खेलाडीहरुलाई आग्रह गर्नुभयो । खेल खेल्नकै लागि मात्र सामाजिक प्रतिष्ठा र आम्दानीको प्रमुख स्रोत समेत भएको उदाहरण दिँदै उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्न सके खेलाडीको अन्तर्राष्ट्रिय बजार पनि राम्रो भएको धारणा राख्नुभयो ।कार्यक्रममा बोल्दै रनिङ शिल्ड प्रतियोगिता निर्देशक समितिका संयोजक तथा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकामा खेलाडी उत्पादन गर्न महत्वपूर्ण रहने धारणा राख्नुभयो । राष्ट्रपति रनिङ शिल्ड, अध्यक्षकप लगायतका खेलहरु सञ्चालन गरी गाउँपालिकामा खेलको विकास, खेलाडीको सम्मान तथा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मको खेल प्रदर्शनको लक्ष्य लिएको बताउनुभयो ।कार्यक्रममा सबुजगण ब्यारेक सिमखर्कका गणपति घनश्याम भट्टराई, राष्ट्रिय अनुसन्धान विभाग सल्यानका अनुसन्धान अधिकृत विनोद दुवाडीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओली, सामाजिक विकास समिति संयोजक एवं वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर रावत, शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेय, नेकपा दार्माका सचिव दलबहादुर केसी, सूर्योदय मावि गोठीवनका प्रधानाध्यापक टेकम चन्दले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फागुन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दार्मा गाउँपालिकाका ४ वटा माध्यमिक विद्यालयहरु सहभागी छन् । गाउँपालिकामा रहेका पाँचओटा माविमध्ये राष्ट्रिय मावि दार्माकोटले भने आफ्ना खेल शिक्षक टेकबहादुर केसीको दुर्घटनामा ज्यान गुमेको शोकमा प्रतियोगितामा सहभागिता जनाएन । रनिङ शिल्डमा भलिबल, कबड्डी, एथलेटिक्ससहित २८ वटा खेलमा प्रतिस्पर्धा हुनेछ ।राष्ट्रपति रनिङ शिल्डका प्रमुख अतिथि सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलसहितको अतिथि टिम र प्रधानाध्यापकको टिमबीच फलिबल खेलेर कार्यक्रमको उद्घाटन खेल सम्पन्न भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस