दार्मा, २२ फागुन । दार्मा गाउँपालिका सल्यानलाई पोषणयुक्त बनाउने प्रतिबद्धता त्यहाँका सरोकारवालाहरुले व्यक्त गरेका छन् । गाउँपालिकामा सञ्चालित सुआहारा कार्यक्रमअन्तर्गत आयोजित एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरुले गाउँपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कुपोषणका कारण व्यक्तिको शारीरिक, मानसिकलगायत सम्पूर्ण विकास प्रक्रियामा बाधा पुग्ने भन्दै स्थानीयस्तरमै भएका पोषणयुक्त खाद्यान्नको सन्तुलन मिलाएर खानुपर्ने गोष्ठीका सहभागीहरुको निष्कर्ष रहेको छ । गाउँपालिकालाई पूर्ण पोषणयुक्त बनाउन कार्यक्रमका सहभागीहरुले एकीकृत कार्ययोजना निर्माण गरी प्रस्तुत गरेका थिए । पोषणयुक्त नहुनुको समस्या पहिचान तथा कारणको खोजी, निरन्तरता दिन सकिने क्रियाकलापहरुको प्राथमिकीकरण, अनुगमन, मूल्याङ्कन योजनता लगायतका विषयमा छलफल गरी समग्र कार्ययोजना प्रस्तुत गरिएको थियो ।स्वास्थ्य तथा पोषणका लागि स्थानीय सुशासनका नीति लिइने र सम्पूर्ण विषयगत शाखाहरुलाई कुपोषण अन्त्यका लागि क्रियाशील बनाउने गरी योजना निर्माण तथा प्रतिबद्धता व्यक्त गरिएको छ । पोषणका लागि सचेतनामूलक कार्यक्रमका साथै कृषि, पशुपालनलगायतका उत्पादनमूलक क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले कुपोषणको अन्त्यका लागि सचेतनामूलक कार्यक्रममा विशेष ध्यान दिन आग्रह गर्नुभयो । पोषणयुक्त खानाको अभाव भन्दा पनि अण्डा बेचेर चाउचाउ, बिस्कुट किन्ने बानीले मानिसहरु कुपोषणको शिकार भएको उहाँको भनाइ थियो । विद्यालय, तथा समुदाय केन्द्रित विशेष कार्यक्रम लिन उहाँले विषयगत शाखाहरुलाई निर्देशन दिनुभयो । प्रतिबद्धता गर्नु ठुलो कुरा नभएको भन्दै अध्यक्ष केसीले त्यसको कार्यान्वयन गरे मात्र उपलब्धि प्राप्त गर्न सकिने बताउनुभयो । सुनौला १००० दिनभित्र बौद्धिक विकासमा टेवा पुग्नेगरी विशेष योजनाका साथ काम गर्न उहाँले विषयगत शाखालाई निर्देशन दिनुभयो ।कार्यक्रममा सुआहारा सल्यानका कार्यक्रम संयोजक अमृत पौडेल र निमराज केसीले पोषणको महत्व, औचित्य र आवश्यकताबारेमा सहभागीहरुलाई प्रकाश पार्नुभएको थियो । त्यसैगरी निमित्त प्रमुख प्रशासकीय अभिकृत अमृत खड्काले कृषि, पशु, शिक्षा, स्वास्थ्य, पोषण तथा सरसफाइमा गाउँपालिकाको लक्ष्य र स्थानीय सरकारको अपेक्षा बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिकालगायतका विषयगत शाखाहरुले समेत मुख्य व्यवहारसम्बन्धी सूचकहरुको अवस्था, उपलब्धि र सञ्चालित क्रियाकलापबारे जानकारी गराएका थिए । एकीकृत पोषण सेवाको दिगोपनाका लागि सुदृढ प्रणालीबारे पोषण अधिकृत लिलबहादुर नेपालीले प्रशिक्षण दिनुभएको थियो ।
दार्मा गाउँपालिका सुआहारा अन्तर्गत डिडिएस सल्यानले पोषणको कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखाहरु, स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी, फारुलाबजार व्यवस्थापन समितिलगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सुआहाराका कार्यक्रम संयोजक अमृत पौडेल, दलित विकास समाज (डिडिएस) सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनलगायतले गाउँपालिकालाई पोषणयुक्त बनाउन गर्न सकिने योजनाहरुबारे प्रस्तुति राख्नुभएको थियो । कार्यक्रम फागुन १९ र २० गते दार्मा गाउँपालिकाको सभाहलमा सञ्चालन भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस