घोराही, २३ फागुन । घोराही उपमहानगरपालिकाले नेपालको छिमेकी देशहरुसहित विभिन्न देशमा फैलिरहेको कोरोनाको संक्रमणबाट जोगिनका लागि सावधानी अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिका बैठकले कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्ने बिश्व स्वास्थ्य संगठनको अध्ययनलाई मध्यनजर गर्दै उपमहानगरले सबै नगरबासीहरुलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

कोरोना भाइरसबाट बच्न स्वास्थ्यकर्मीहरुले दिइरहेका सुझाबहरुको अवलम्बन गर्दै होसियारी अपनाउन आग्रह गरिएको प्रवक्ता भरतमणि अर्यालले जानकारी दिनुभयो । साथै बजारमा औषधीजन्य वस्तुहरुको अभाव र कालोबजारी हुने गरेको गुनासो बाहिरिएको भन्दै बैठकले उपभोक्ता अधिकारमा विषेश ध्यान दिन समेत औषधी व्यवसायीहरुलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरुले भनेका गतिविधिहरु भेला, सम्मेलन, सभा तथा भिडभाड नगर्न र सहभागी नहुन समेत नगरबासीलाई अपिल गरेको छ ।

त्यसैगरी बैठकले होली पर्वलाई पनि यसवर्ष संवेदनशीलतासँग जोड्दै नखेल्न आग्रह गरेको छ । होली खेल्दा भिडभाड हुने, पानीले भिज्ने र रंगहरु दल्ने हुँदा त्यसले यो अवस्थामा स्वास्थ्यलाई असर गर्ने देखिएको भन्दै सचेत गराएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस वर्षको ११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा औपचारिक कार्यक्रम नगरिएको र सबै श्रमिक महिलाहरुलाई शुभकामना व्यक्त गरेको छ ।

महिलाहरुको श्रमको उच्च सम्मान र योगदानको मूल्यांकनमा स्थानीय सरकार प्रतिबद्ध रहेको उपमहानगरले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस