दार्मा, ९ चैत । विश्वभर महामारीका रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन विशेष सावधानी अपनाउन दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाबासीमा अनुरोध गरेको छ । दार्मा गाउँपालिका गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले सङ्क्रमण फैलिन नदिन अत्यावश्यक काम बाहेक अन्य समयमा भिडभाड हुने खालका कार्यक्रम, सभा, सम्मेलन, विवाह, व्रतबन्ध, पठनपाठन आदि तत्कालका लागि पूर्ण रुपमा बन्देज गरेको हो ।

व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, घर–आँगन, टोल, बस्ती, बजारलगायतका व्यक्तिगत र सार्वजनिक स्थलहरुमा सफासुग्घर रहन तथा राख्न बैठकले विशेष निर्देशन गरेको छ । गाउँपालिकाले स्वासथ्य शाखा लगायत तीनवटै स्वास्थ्यचौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक स्वास्थ्य इकाई, गाउँघर क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायत सबैलाई बिदामा नबसी नियमित सेवामा खड्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।

बैठकले सङ्क्रमणबाट बच्न सचेतना फैलाउन तथा सङ्क्रमण भएको अवस्थामा परिचालित हुने गरी द्रुत प्रतिकार्य समूह (¥यापिड रेस्पोन्स टिम) समेत गठन गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काको संयोजकत्वमा रहेको उक्त टोलीमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, विषयगत शाखालगायतका प्रतिनिधिहरु रहेका छन् । त्यसैगरी वडाअध्यक्षको संयोजकत्वमा वडास्तरीय द्रुत प्रतिकार्य समूह समेत गठन गरिएको छ ।

विदेश तथा नेपालका विभिन्न सहरबाट गाउँपालिका फर्किएका व्यक्तिहरुको निगरानी गरिने गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन विभिन्न स्थानबाट गाउँपालिका फर्किएका व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न समेत बैठकले आग्रह गर्ने निर्णय गरेको छ । सानो असावधानीका कारण ठुलो क्षति हुन सक्ने भन्दै सम्पूर्ण नागरिकलाई सचेत रहन कार्यपालिका बैठकले विभिन्न १० बुँदे विशेष सूचना तथा निर्देशन जारी गरेको छ ।

अनाधिकृत रुपमा सामाजिक सञ्जाल तथा सूचना नेटवर्कमा आउने सूचनालाई शेयर, कपि नगर्न अनुरोध गर्दै आधिकारिक सूचनालाई पालन गर्न, हल्लाको पछि लागेर नआत्तिन, नडराउन र त्यसखाले गलत तत्वलाई निगरानी र नियन्त्रण गर्न सुरक्षा निकायलाई विशेष अनुरोध गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस