दार्मा, १९ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरस रोकथामका लागि हालसम्म भएका प्रयास तथा उपलब्धिबारे समीक्षा गरेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीको अध्यक्षतामा बसेको विशेष बैठकले हालसम्म भएका कामको समीक्षा गर्नुका साथै भाइरसको सङ्क्रमण रोक्नका लागि विभिन्न योजनाहरु तय गरेको छ ।

त्यसैगरी आजै बसेको गाउँ कार्यपालिकाको बैठकले विशेष बैठकले गरेका निर्णय अनुमोदन गर्नुका साथै राहत कोष निर्माणका लागि झण्डै ८६ लाखको राहत कोष स्थापना गरेको छ । जसमा गाउँपालिकाले ८० लाख छुट्याएको छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार पाँच सय जम्मा गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी बैठकले गाउँपालिकामा कार्यरत कर्मचारीको सुरु स्केलको ५ दिन बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको सङ्क्रमणलाई रोक्न सहयोग गर्न सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई गाउँपालिकाले आह्वान गरेको छ । सहयोग गर्न चाहने संघसंस्थाहरुले नबिल बैंकमा रहेको दार्मा गाउँपालिकाको खाता नं. ग५–७३०१०१७५०००१० मा रकम जम्मा गर्न अनुरोध गरेको छ ।

विशेष बैठकले दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको तथ्याङ्क सङ्कलन गरी यथाशिघ्र खाद्यान्न तथा राहत वितरण गर्ने निर्णय गरेको छ । राहत वितरण अन्तर्गत जागिरी, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरु रहेका छन् । त्यसैगरी बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत सहयोग उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो ।

विशेष बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्नका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा उपाध्यक्षसहित प्रत्येक वडाका वडा अध्यक्ष र एकजना वडाका निर्वाचित प्रतिनिधि, वडा सचिव, सुरक्षा निकाय, राजनीतिक दल, स्वास्थ्यचौकी तथा स्वास्थ्य इकाइ प्रमुख, पालिकाका बुद्धिजीवी सहितको ३० सदस्यीय पूर्व तयारी तथा प्रतिकार्य समन्वय समितिको गठन गरेको छ । जुन समितिले सम्भावित जोखिमबाट बच्न योजना बनाउने तथा कार्यान्वयन गर्ने विशेष जिम्मेवारी लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले एक स्थानमा गाउँपालिकास्तरीय क्वारेन्टाइन तथा प्रत्येक वडामा वडास्तरीय एक/एक वडा क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ । जसको लागि पूर्व तयारी तथा प्रतिकार्य समन्वय समितिलाई तत्काल सम्भाव्यता अध्ययन गरी सुझाव दिने निर्णय भएको छ । साथै बैठकले प्रत्येक वडामा जिल्ला बाहिर तथा विदेशबाट आएका व्यक्तिहरुको खोजी तथा निगरानी गर्न २५ घरधुरीलाई आधार बनाई ५ देखि ९ सदस्यीय टोली गठन गरी परिचालन गर्ने निर्णय गरेको छ । खोजी तथा निगरानी समूहमा सबै शिक्षक, कर्मचारी, पार्टीका कार्यकर्ता, समाजसेवी, जनताका अरु संगठित समूह, युवा, संघसंस्थालगायतलाई परिचालन गर्ने निर्णय विशेष बैठकले गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस