दाङ, १९ चैत । त्रिभुवननगर जेसीजले कोरोना सङ्क्रमणले विश्वभर महामारीको रुप लिएको बेला दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्न समस्या भएकाहरुलाई सहयोग गर्न सङ्कलन गरेको खाद्य सामग्री घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

जेसीजले देशमा भएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत उपलब्ध गराउने गरी ३ हजार किलो चामल, १ सय पच्चीस किलो दाल, एक सय लिटर खाने तेल, ७० किलो नुन, २ सय वटा नुहाउने साबु र १ सय प्याकेट बेसार उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

उपमहानगरपालिकाले सङ्कलन गरेको बिपन्न परिवारको अभिलेख अनुसार राहत सामग्री वितरण गरिने बताइएको छ । त्रिभुवननगर जेसीजका अध्यक्ष माधवप्रसाद पौडेलसहितको त्रिभुवननगर जेसीजको टोलीले सङ्कलित सामग्री उपमहानगरपालिकाका प्रेस संयोजक निमुसङ्गम घर्तीमार्फत उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

तीन दिनभित्र उपमहानगरले बिपन्न परिवारको सूची तयार पार्ने र हस्तान्तरित सामग्रीहरु उपमहानगर र त्रिभुवननगर जेसीजले संयुक्तरुपमा वितरण गर्नेछन् ।

साथै त्रिभुवननगर जेसीजले अपाङ्ग संघ खगेन्द्र नवजीवज केन्द्र घोराही १४ झि‌ंगौरामा बस्दै आएका अपाङ्गता भएका व्यक्तिहरुलाई ५० किलो चामल, दाल, नुन, तेल र साबुन आज उपलब्ध गराएको महासविच मिनराज भाटले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस