दार्मा, २५ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसका सम्भावित सङ्क्रमितको नमुना सङ्कलन गर्ने भएको छ । भोलि बुधबार जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा बिहान १० बजेदेखि नमुना सङ्कलन गरिने गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो । चैत १ गतेपछि कतार, साउदी, मलेसिया लगायतका तेस्रो मुलुकबाट आएका सम्पूर्णको नमुना सङ्कलन गरिने छ भने भारत तथा नेपालका विभिन्न स्थानबाट आएका कोरोनाको लक्षण देखिएका संदिग्ध व्यक्तिहरुको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइने अध्यक्ष केसीले बताउनुभयो ।

नमुना सङ्कलनका लागि स्वास्थ्य सेवा कार्यालय सल्यानबाट डा. भीमकान्त जैसीसहित ल्याबका भीम रोकाय र छवि बुढाथोकी आउने डा. अर्जुन बुढाले जानकारी दिनुभयो । डा. बुढाका अनुसार स्वाब लिइसकेपछि परीक्षणका लागि सुर्खेत पठाइने छ । भाइरस ट्रासपोर्ट मिडियममा स्वाब राखेको ७२ घण्टाभित्र प्रयोगशालामा पुर्‍याइसक्नुपर्ने उहाँले बताउनुभयो । परीक्षण गर्दा १ घण्टाभित्रै रिपोर्ट आउने भए पनि प्रदेशभरीकै परीक्षण गर्नुपर्ने भएको हुँदा केही ढिला हुनसक्ने उहाँले बताउनुभयो । जतिसक्दो चाँडो परीक्षण गरी रिपोर्ट पठाइने व्यवस्था मिलाइएको डा. बुढाले बताउनुभयो ।

स्वाब सङ्कलनका लागि दार्मा गाउँपालिका सल्यानले सम्पूर्ण वडाका कोरोनाको लक्षण देखिएका र तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई समयमै उपस्थित हुन अनुरोध गरेको छ ।

केही दिन पहिले सल्यानमा आउनुभएका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्क अनुसार स्वाब सङ्कलन गरी परीक्षण गर्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले भोलि दार्मा र कुमाख गाउँपालिकामा नमुना सङ्कलन गर्नेगरी कार्यक्रम तय गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस