दार्मा, ६ वैशाख । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाका ६ वटै वडामा खोजी तथा निगरानी समूह (आरएमटी) गठन गरेको छ । गाउँपालिकाले विदेश तथा नेपालका विभिन्न स्थानबाट फर्किएका व्यक्तिहरुको खोजी गर्न २५ घरलाई हेर्नेगरी समूह गठन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो ।

गठन गरिएका समूहले गाउँपालिका भित्रिएका व्यक्तिहरुको लगत सङ्कलन गर्ने तथा क्वारेन्टाइनमा बसे नबसेको निगरानी गर्ने कार्यादेश दिइएको छ । यस्ता समूहहरु वडा नं. १ मा १४ वटा, वडा नं. २ मा २१ वडा, वडा नं. ३ मा १६ वटा, वडा नं. ४ मा २९ वडा, वडा नं. ५ मा २८ वटा र वडा नं. ६ मा ३० वडा गठन गरिएको छ ।

यी समूहहरुले कोरोना विरुद्धको सचेतना दिने, आपत्कालीन सहयोग गर्नुपर्ने अवस्थाको बारेमा गाउँपालिकालाई जानकारी दिनेलगायतका काम गर्नेछन् । गाउँपालिकाले पालिकास्तरमा पूर्व तयारी तथा प्रतिकार्य समन्वय समिति (पिआरसिसी) र प्रत्येक वडामा वडास्तरीय कोरोना पूर्व तयारी तथा प्रतिकार्य समन्वय समिति (डब्लुपिआरसिसी) गठन गरी काम गर्दै आएको छ ।

पालिकाले गाउँपालिका भित्रने विभिन्न ७ वटा नाकामा कर्मचारी तथा शिक्षक परिचालन गरी निगरानी समेत गरिरहेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो । अत्यावश्यक काममा बाहेक अन्य अवस्थामा पालिका भित्रन तथा पालिकाभित्र आवत जावत गर्न समेत कडाइ गरिएको अध्यक्ष केसीले बताउनुभयो । गाउँपालिकाका क्षेत्रहरुमा अनावश्यक भिडभाड, भेला, आवतजावत हुन नदिन इलाका प्रहरी कार्यालय फारुलाचौरको प्रहरी टोली समेत परिचालन गरिएको छ ।

दार्मा गाउँपालिकामा चैत ४ गते यता कतार, मलेसियालगायतका तेस्रो मुलुकबाट ७ जना, भारतबाट १ सय ५३ जना, नेपालका विभिन्न स्थानबाट ४ सय ५ जना भित्रिएको गाउँपालिकाले बताएको छ । नेपालका विभिन्न स्थान, भारत र मलेसिया, कतारलगायतका तेस्रो मुलकबाट गाउँपालिका भित्रिएका र गाउँपालिकाका कोरोनाको शङ्कास्पद व्यक्तिहरुलाई गरिएको र्‍यापिड टेष्ट र स्वाब परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । गाउँपालिकामा २ सय १० जनाको र्‍यापिड टेष्ट र ११ जनाको स्वाब परीक्षण गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस