दाङ, १८ वैशाख । रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको बम विष्फोटमा ४ जना बालबालिकाको ज्यान गएको छ । बिस्फोटमा परी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ की ११ वर्षीया बालिका विमला केसी, पाँच वर्षीय विजय केसी (विमलाका भाइ), १२ वर्षका गौरव नेपाली र त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का १४ वर्षीय लाेकीराम डाँगी रहेको त्रिवेणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।
ज्यान गुमाउने बालबालिकाहरु बाख्रा चराउन जंगल गएका थिए। गाउँलेहरुले ठूलो आवाजसहित विष्फोट भएको सुनेपछि घटनास्थलतर्फ गएका थिए। उनीहरु घटनास्थलमा पुग्दा बालबालिकाका शव यत्रतत्र छरिएको अवस्थामा रहेको बुढाले बताउनुभयो । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टाेली पुगिसकेकाे तर सबैले नेपाली सेनालाई पर्खिरहेकाे उहाँले बताउनुभयो ।
‘अझै एउटा चम्किलो देखिने बस्तु घटनास्थलमा छ। हामी शव नजिक गएका छैनौँ’, वडाध्यक्ष बुढाले भन्नुभयो, ‘सेनाको डिस्पोजल टोली आउँदैछ। हामीले सेनालाई पर्खिरहेका छौँ।’
अहिले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधिका साथै गाउँलेहरु घटनास्थलमा पुगेका छन्। रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले नेपाली सेना घटनास्थलतर्फ हिँडिसकेको जानकारी दिनुभयो । बम कसले राख्यो भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन।