दार्मा, २३ जेठ । स्वास्थ्य मन्त्रालयद्वारा खरिद गरिएका आरडिटी किटमाथि नै प्रश्न उठेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानद्वारा हस्तान्तरित किटबाट दार्मा गाउँपालिकामा कोरोना पुष्टी भएका नौजनामा गरिएको परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएको छ ।

शुक्रबार दार्माको आइसोलेसनमा रहेका व्यक्तिमा गरिएको आरडिटी परीक्षणमा संक्रमितको शरीरमा एन्टीबडी नबनेको अर्थात कोरोना संक्रमण नभएको रिपोर्ट आएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । अध्यक्ष केसीले प्रयोगशालाप्रति नै आफ्नो आशंका उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो “पिसिआर पोजेटिभ देखिए उनीहरुको आरडिटी पनि अनिवार्य पोजेटिभ हुनु पर्ने हुन्छ तर यहाँ सबैको नेगेटिभ आयो । पिसिआर परीक्षणमा गम्भीर लापरबाही भएको हुनसक्छ, जिम्मेवार निकायले यसको छानविन गर्नुपर्छ ।” प्रयोगशाला र रिपोर्टको व्यवस्थापनमा नै गम्भीर समस्या हुनसक्ने भन्दै अध्यक्ष केसीले यो गम्भीर लापरबाहीको संकेत भएकोले बेलैमा खोजविन जरुरी भएको बताउनुभयो ।यता स्वास्थ्य कार्यालय सल्यानका कार्यालय प्रमुख डा. अर्जुन कुमार बुढाले भने पिसिआर रिपोर्ट गलत नभएर आरडिटी किट नै गुणस्तरहीन भएको बताउनुभयो । संक्रमितको स्वाब लिएको ५ देखि ७ दिनपछि आरडिटी परीक्षण गर्नुपर्ने भन्दै डा. बुढाले पिसिआर पोजेटिभको आरडिटी नेगेटिभ हुनै नसक्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयले खरिद गरेको आरडिटी परीक्षण किट प्रदेश सरकारमार्फत स्वास्थ्य कार्यालय सल्यान हुँदै गाउँपालिका आएको थियो । डा. बुढाले पिसिआर मेसिनबाट रिपोर्ट गलत नआउने बताउनुभयो ।

प्रमुख डा. बुढाले आफूले यसबारे माथि जानकारी गराइसकेको समेत बताउनुभयो । यसखालको रिपार्ट आउँदै गर्दा आफूहरुलाई काम गर्न अन्यौल भएको उहाँको भनाइ थियो । यो समस्या दार्मामा मात्र नभएर सबैतिर देखिएको डा. बुढाले बताउनुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जेठ १८ गते सार्वजनिक गरेको विज्ञप्तिमा दार्मा गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरिएको थियो । संक्रमितहरु हाल दार्मा गाउँपालिकाले निर्माण गरेको आइसोलेसन कक्षमा बसिरहेका छन् । उनीहरुकाे स्वास्थ्य अवस्था भने सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

भारतका विभिन्न स्थानबाट आएका ६६ जनाको गाउँपालिकाले जेठ १२ गते स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पतालमार्फत सुर्खेत प्रयोगशालामा पठाइएको थियो । स्वाब संकलनको ९ दिनपछि नौ जनामा कोरोनाको पुष्टी भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस