दार्मा, ३१ जेठ । दार्मा गाउँपालिका सल्यानले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका आयोजनाहरु कार्यान्वयन सुरु गरेको छ । दार्मा गाउँपालिकाले वडा नं. २ को गाङ्गेखोला–झ्यारिबाङ सडक स्तरबृद्धि आयोजनाको शनिवार गाउँपालिका अध्यक्ष निमबहादुर केसी तथा उपाध्यक्ष टीका शर्मा ओलीले संयुक्तरुपमा नाला खनेर शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गाउँठाउँमै सरकारले रोजगारीको अवसर सिर्जना गरेको भन्दै गुणस्तरीय काम गर्न निर्देशन दिनुभयो । हरेक साल एउटै योजनामा बजेट खन्याउने भन्दा पनि एक पटक गरेको काम वर्षौं टिक्नेगरी गर्न आग्रह गर्नुभयो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले बेरोजगार भएका व्यक्तिले रोजगार पाउँदा थोरै भए पनि राहतको महसुस गर्नुपर्ने बताउनुभयो । आफ्नो पसिना आफ्नै गाउँ बनाउनमा बगाउनु पर्ने उपाध्यक्ष ओलीको भनाइ थियो ।

यस आयोजनामा दार्मा गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सूचीकृत ३७ जनाले रोजगारी पाएका छन् । गाउँपालिकामा यस आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६८ लाख ८० हजार रुपैयाँ आएको गाउँपालिकाका रोजगार संयोजक किरण गौतमले जानकारी दिनुभयो । उक्त रकमबाट गाउँपालिकाले सबै वडालाई समेट्ने गरी ७ वटा योजनाहरु कार्यान्वयन गर्न लागेको संयोजक गौतमले बताउनुभयो । सम्पूर्ण योजनामा २ सय ८३ जना श्रमिकहरुले प्रत्यक्ष रोजगारी पाउने उहाँले बताउनुभयो ।त्यसैगरी मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनको पनि तयारी भइरहेको गाउँपालिकाले बताएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुईवटा आयोजनाका लागि प्रदेश सरकारले सशर्त अनुदान अन्तर्गत ६४ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त योजनामा ३ सय ८४ जनाले रोजगारी पाउनेगरी लागत अनुमान तयार गरिएको गाउँपालिकाका इन्जिनियर मधुसूदन केसीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत श्रमिकको ज्यालाबाट मात्रै गाउँपालिकामा १ करोड ४ लाख ७५ हजार ८ सय ६३ रुपैयाँ भित्रने रोजगार संयोजक किरण गौतमले बताउनुभयो । काममा खटिएका दक्ष कामदारले दैनिक ९ सय रुपैयाँ र अदक्ष कामदारले दैनिक ६ सय रुपैयाँ ज्याला पाउने गौतमले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस