दार्मा, ३१ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमले न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगारका लागि फाराम खुला गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहहरुलाई २०७७ असार ३० गते भएको पत्रानुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न हुन चाहने बेरोजगारहरुलाई सूचीकृत हुन एक महिनाको अवधि दिइएको छ ।
बेरोजगारहरुले स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा गई सूचीकृत हुन २०७७ साउन ८ गतेदेखि भाद्र ७ गतेसम्म निवेदन दिनसक्ने समय सीमा तोकिएको छ । साथै मन्त्रालयले भाद्र मसान्तसम्म सबै स्थानीय तहहरुले बेरोजगार व्यक्ति सूचीकरणका सम्पूर्ण प्रक्रिया पूरा गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिएको छ ।

यसैबीच दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बेरोजगारहरुलाई रोजगारीमा संलग्न हुनका लागि अनिवार्य सूचीकृत हुन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेशका स्थानीय तहहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रमका साथै मुख्यमन्त्री रोजगार कार्यक्रम समेत सञ्चालनमा आएको छ । यस आर्थिक वर्षमा दार्मा गाउँपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रममा १ करोड ३ लाख ७८ हजार र प्रधानमन्त्री रोजगार कार्यक्रममा ६८ लाख ८० हजार गरी १ करोड ७२ लाख ५८ हजार रुपैयाँ आएको थियो । जसअन्तर्गत सञ्चालित १० वटा योजनाहरुमा गाउँपालिकाका ९ सय ७७ जनाले प्रत्यक्ष रोजगारी पाएको गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएकाहरुलाई प्राथमिकताक्रमको सूचीका आधारमा काममा खटाउने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमले कार्यविधि ल्याएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस