दाङ, ११ साउन । दार्मा गाउँपालिका सल्यानले ३ सय ६५ अतिबिपन्न परिवारलाई राहत वितरण गर्ने भएको छ । कोरोना महामारीका कारण ४ महिना लामो बन्दाबन्दीमा परेका तथा सलह प्रकोप/बाढी/पहिरो जस्ता बिपद्का कारण छाक टार्न समस्या परेका परिवारलाई राहत वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।

अध्यक्ष केसीका अनुसार २ सय घरपरिवारलाई वडाको सिफारिसका आधारमा राहत वितरण गरिने छ । छनौटमा पर्नेहरु कुनै पनि सरकारी सेवा सुविधा नपाएको अति बिपन्न परिवार र असहाय/अनाथ बालबालिका हुनेछन् । परिवारमा श्रम गर्ने जनशक्ति नभएकोलाई यस मापदण्डमा राखी प्रति परिवार २५ केजी चामल लगायतको खाद्यान्न प्याकेज राहत स्वरुप उपलब्ध गराइने छ ।

त्यसैगरी दोस्रो मापदण्डमा अन्य सबै आधार उही भए पनि काम गर्ने जनशक्ति रहेको परिवार यस अन्तर्गत पर्नेछन् । जसअन्तर्गत १ सय ६५ परिवारलाई राहत उपलब्ध गराइने छ तर उनीहरुले वडाको सिफारिस बमोजिम तोकिएको स्थानमा ५ दिन श्रम गर्नु पर्नेछ । यो अन्तर्गत राहत पाउनेहरुले ५० केजी चामलसहितको राहत प्याकेज प्राप्त गर्नेछन् ।

गाउँपालिकाले यही साउनभित्रै राहत वितरण गर्नेगरी प्रक्रिया अगाडि बढाएको अध्यक्ष केसीले बताउनुभयो । यसले गरिब, बिपन्न परिवारलाई छाक टार्न सहजता ल्याउनुका साथै श्रम गर्ने संस्कारको समेत विकास हुने उहाँले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस