दाङ, २२ साउन । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका बिपन्न परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिकाले  ६ वटै वडाका २०० परिवारलाई राहत वितरण गर्ने योजना अनुरुप मङ्गलबार वडा नं. २ र ३ का ५१ परिवार, बुधबार वडा नं. ४ र ६ लगायतका ६० परिवार र आज बिहीबार वडा नं. १ र ५ लगायतका ३६ परिवारलाई राहत वितरण गरेको थियो । हालसम्म १ सय ४७ परिवारलाई राहत वितरण गरिएको र तोकिएको समयमा राहत लिन छुटेकाहरुलाई कार्यालयमा सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

कोरोना महामारीका कारण ४ महिना लामो बन्दाबन्दीमा परेका तथा बाढीरपहिरो जस्ता बिपद्का कारण छाक टार्न समस्या परेका अति बिपन्न परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । वडाको सिफारिसका आधारमा राहतस्वरुप खाद्यान्न वितरण सुरु गरिएको उहाँले बताउनुभयो । परिवारमा श्रम गर्ने उमेर समूहका व्यक्ति नभएका र सरकारबाट कुनै पनि सुविधा नपाएका अति बिपन्न परिवारहरुलाई राहत उपलब्ध गराइएको अध्यक्ष केसीले बताउनुभयो ।राहत अन्तर्गत प्रतिपरिवार २५ केजी चामल, दाल, नूनको खाद्यान्न सामग्री वितरण गरिएको जिन्सी शाखा प्रमुख खुमबहादुर केसीले जानकारी दिनुभयो । त्यसैगरी गाउँपालिकाले थप १ सय ६५ घरपरिवारलाई श्रममा आधारित राहत वितरण गर्न लागेकाे उहाँले बताउनुभयो ।

जसअन्तर्गत वडाबाट सिफारिस भई आएका परिवारलाई राहत उपलब्ध गराइने छ । यी परिवारका व्यक्तिले २५ गतेदेखि वडाले तोकेको स्थानमा ५ दिन श्रम गर्नु पर्नेछ । यो अन्तर्गत राहत पाउनेहरुले ५० केजी चामलसहितको राहत प्याकेज प्राप्त गर्नेछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस