दाङ, १२ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दाङमा ९ हजार ५ सय ६० बेरोजगारहरु सूचीकृत भएका छन् । दाङका १० वटा स्थानीय तहहरुमा ४ हजार ८ सय ७७ पुरुष र ४ हजार ६ सय ८३ महिला बेरोजगार सूचीकृत भएका हुन् ।

सूचीकृत हुनेमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा २ हजार २ सय ८१ जना बेरोजगारहरु सूचीकृत भएका छन् भने सबैभन्दा कम राजपुर गाउँपालिकामा ४ सय २ जना बेरोजगारहरु सूचीकृत भएका छन् ।

सूचीकृत हुनेमा महिलाभन्दा पुरुषको संख्या बढी रहेको छ । सूचीकृतमध्ये ५१.०१ प्रतिशत पुरुष रहेका छन् भने ४८.९९ प्रतिशत महिला रहेका छन् ।

दशवटा स्थानीय तहहरुमध्ये दङ्गीशरण गाउँपालिकाको बेरोजगारहरुको नामावली रोजगार व्यवस्थापन सूचना प्रणालीमा हालसम्म प्रविष्ट भएको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमले असोज २० गतेसम्म सम्पूर्ण स्थानीय तहहरुलाई बेरोजगारहरुको सम्पूर्ण विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिसक्न पत्राचार गरेको थियो ।

दङ्गीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले पालिकामा २ हजार ९ सय ३७ जना बेरोजगारहरुको निवेदन प्राप्त भएको बताउनुभयो । १ हजार ३ सय २८ जना पुरुष र १ हजार ६ सय ९ जना महिलाको निवेदन प्राप्त भएको गिरीेले बताउनुभयो । फाराम पूर्ण नभएका कारण केही समय ढिला भए पनि अब छिट्टै उनीहरुको सम्पूर्ण विवरण रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिने उहाँले बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचीकृत बेरोजगारहरुको संख्याको आधारमा स्थानीय तहलाई रकम पठाउने व्यवस्था गरेको छ । संघीय सरकारले पठाएको सशर्त अनुदानबाट सूचीकृत बेरोजगारहरुलाई न्यूनतम १०० दिनको रोजगारी दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको हो ।

मापदण्ड पूरा भएका सूचीकृत बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी दिइने यदि रोजगारीको अवसर उपलब्ध हुन नसके न्यूनतम रोजगारीबाट प्राप्त हुने रकमको ५० प्रतिशत निर्वाह भत्ता दिनेगरी मन्त्रालयले कार्यक्रम ल्याएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस