दाङ, १० मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको एक कार्यक्रमकाबीच उद्घाटन गरेको छ । “लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको प्रतिबद्धता” भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको अभियानमा तुलसीपुर क्षेत्रका सरोकारवाला संघसंस्था तथा तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले सेतो रिबन बाँधेर कार्यक्रमको सुरुवात गरेका हुन् ।कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख माया शर्माले लैङ्गिक हिंसाविरुद्ध १६ दिनको अभियानमा मात्र नभएर ३ सय ६५ दिन नै सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । हिंसापीडितहरुलाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उद्यमशीलता विकासका लागि १६ दिने अभियान अन्तर्गत तथ्याङ्क सङ्कलनको काम समेत हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले नगरपालिकाभित्रै लैङ्गिक हिंसा भए नभएको बारे सर्वेक्षण गर्नुपर्ने धारणा राख्नुभयो । सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गरी लैङ्गिक हिंसामुक्त कार्यालय भए नभएको जानकारी दिने, नभएको पाइएमा त्यसलाई हिंसामुक्त बनाउन लाग्नुपर्ने उहाँले बताउनुभयो । महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विष्णु कुमारी आचार्यले आफूहरु हिंसामुक्त समाज निर्माणको अभियानमा लागेको बताउनुभयो । लिङ्गका आधारमा गरिने सबै विभेदको अन्त्य गर्न सके मात्र समुन्नत समाज निर्माण हुने उहाँको भनाइ थियो ।कार्यक्रममा आरेक नेपाल दाङकी संयोजक ईश्वरी थापाले समेत लैङ्गिक हिंसाका घटनाहरु रोक्न सबै लाग्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा सामाजिक विकास शाखाका अधिकृत माया श्रेष्ठले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस