दाङ, २ फागुन । तुलसीपुर उपमहानगरपालिका दाङमा आइतबारदेखि दोस्रो चरणको खोप लगाउने कार्य सुरु भएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत नगरप्रमुख घनश्याम पाण्डेले खोप लगाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

दोस्रो चरणमा नेपाल सरकारको प्राथमिकतामा परेका निजामती कर्मचारी (करार समेत), स्थानीय जनप्रतिनिधिहरु, जनपद प्रहरी, शसत्र प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण, संस्थानका कर्मचारी, न्याय सेवाका कर्मचारी र पत्रकार लगायत अघिल्लो पटकमा छुटेका स्वास्थ्यकर्मीहरुहरुलाई ८ गतेसम्म कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन हुने तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे,नगर उपप्रमुख माया शर्मा, प्रमुख प्रशाकीय अधिकृत भाष्करराज गौतम तथा दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले खोप लगायर अभियानको शुरुवात गरिएको छ। शुभारम्भ कार्यक्रममा नगर प्रमुख घनश्याम पाण्डेले सबै जनप्रतिनिधिहरु कर्मचारीहरुलाई ढुक्क भयर खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले खोपले सुरक्षा प्रदान गर्नुका साथै जीवन रक्षा गर्ने भएकोले सबैले खोप लगाउनुपर्ने बताउनुभयो ।

अब दीर्घरोगी तथा ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने प्राथमिकतामा राखिएको फोकल पर्सन केसीले बताउनुभयो । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको खोप केन्द्रमा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गिगीशरण र बबई गाउँपालिका क्षेत्रलाई पायक पर्ने हिसाबले केन्द्र राखिएको बताइएको छ । राप्ती प्रादेशिक अस्पताल खोप केन्द्रबाट १७०० बढीलाई खोप लगाउने लक्ष्य राखिएको छ । पहिलो चरणमा तुलसीपुरमा १ हजार ५ सय जनालाई खोप प्रदान गरिसकिएको छ ।

दोस्रो चरणअन्तर्गतको कोरोना खोपको शुभारम्भको अध्यक्षता अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले गर्नुभएको थियो भने खोपको बारेमा स्वास्थ्य कार्यालय दाङका खोप सुपरभाइजर भानुज्योति वलीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले गर्नुभएको थियो ।

खोप लगाउन आउने व्यक्तिले अनिवार्य रुपमा कार्यालयको पत्र र परिचय पत्र ल्याउनु पर्नेछ । खोप प्रदानका लागि चिकित्सक सृजना न्यौपानेसहित स्वास्थ्यकर्मीहरु सुदृष्टि श्रेष्ठ, रेवत भण्डारी, धनबहादुर केसी, सुनिता पोखरेल, उषा बोहरा, कृष्णगोपाल चौधरी लगायतको टिम खटिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस