दाङ, ९ फागुन । जिल्ला प्रशासन कार्यालय सल्यानले सल्यानको दार्मा गाउँपालिकालाई प्रजातन्त्र दिवसका अवसरमा सम्मान गरेको छ । उत्कृष्ट कार्य तथा उत्तम अभ्यास गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले गाउँपालिकालाई सम्मान गरेको हो ।

प्रजातन्त्र दिवसका अवसरमा सल्यान खलङ्गामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्कालाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

गाउँपालिकाले कक्षा १ देखि ५ सम्म ‘हाम्रो दार्मा’ स्थानीय पाठ्यक्रम लागु गरेको, स्वयम्सेवक शिक्षक तथा कर्मचारी छनौट गरी सेवामा परिचालन, स्थानीय लोपोन्मुख कला संस्कृतिको जगेर्ना र प्रबद्र्धनका लागि ‘दर्माली घाउटा’ पुस्तक तथा भिडियो प्रकाशन प्रसारण गरेको लगायतका मूल्याङ्कनका आधारमा पालिका उत्कृष्ट छनौटमा परेको हो ।

साथै गाउँपालिकाले लोपोन्मुख बाजागाजा संरक्षणका लागि बाजागाजा सङ्कलन, गाउँपालिकाको डिजिटल प्रोफाइल तयारी, प्रधानमन्त्री रोजगार कार्यक्रमको उत्कृष्ट कार्यान्वयन, हेल्पडेस्क तथा निःशुल्क फोटोकपी सेवालगायतका उत्कृष्ट काम गरेको सम्मानपत्रमा उल्लेख छ ।

त्यसैगरी उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय सल्यान र जिल्ला हुलाक कार्यालय सल्यानलाई समेत उत्कृष्ट कार्य एवम् उत्तम अभ्यास गर्ने कार्यालयका रुपमा सम्मान गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस