दाङ, २२ फाल्गुन । दार्मा गाउँपालिका सल्यानमा नवनिर्मित प्रसूति सेवा तथा नागरिक आरोग्य केन्द्र भवनको उद्घाटन गरिएको छ । दार्मा गाउँपालिका वडा नं. ३ को फारुलामा निर्मित उक्त भवनको जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले रिबन काटेर र ताम्रपत्र अनावरण गरेर शुक्रबार उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले गाउँपालिका र जिल्ला समन्वय समितिको साझेदारीमा नमुना काम भएको भएको उल्लेख गर्नुभएको थियो । भवनमा प्रसूति सेवा र आयुर्वेद सेवा उपलब्ध गराउने उद्देश्य लिएको बताउँदै उहाँले थप पूर्वाधार विकास गर्न आवश्यक रहेको बताउनुभयो ।त्यस्तै उपप्रमुख हरि प्रकाश बुुढाथोकीले दार्माको यस दुर्गम वस्तीमा यसखाले सेवा र पूर्वाधार निर्माण हुनु उदाहरणीय कार्य भएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले नवनिर्मित भवनबाट दिइने सेवाले दार्मा गाउँपालिका मात्र नभएर कुमाख गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडा र वस्तीका जनताले समेत सेवा पाउने बताउनुभयो । भवन उद्घाटनसँगै त्यहाँबाट एमबीबीएस डाक्टरसहितको ओपिडी सेवाका साथै प्रसूति तथा आयुर्वेद सेवा उपलब्ध हुने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति सल्यान र दार्मा गाउँपालिका सल्यानको समपुरक योजनाअन्तर्गत १ करोड ८ लाखको लगानीमा भवन निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्ट, उपप्रमुख हरि प्रकाश बुढाथोकी, राष्ट्रिय योजना आयोगका योजना अधिकृत पर्शुराम पोखरेल, जिल्ला समन्वय समिति सदस्यहरु पोखरबहादुर खत्री, यज्ञबहादुर चन्द, पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, प्रेस सङ्गठनका केन्द्रीय सदस्य कृष्ण पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दार्मा गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर रावतले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस