दाङ, ६ वैशाख । बुद्ध ईन्टरनेशनल अस्पताल घोराही दाङले लेजर प्रविधिवाट मृगौलामा रहेको पत्थरीको शल्यक्रिया सेवा सुरु गरेको छ । यसअघि पिसावनलीसम्म रहेको पत्थरीको लेजर प्रविधिवाट शल्यक्रिया गर्ने गरेको अस्पतालले पश्चिम नेपालमै पहिलो पटक मृगौलामा रहेको पत्थरीको चिरफार विना नै शल्यक्रिया गर्न थालेको हो ।

गत फागुन महिनाबाट अहिलेसम्म ११ जना विरामीले लेजर प्रविधिवाट मृगौलाको पत्थरीको शल्यक्रिया सेवा लिइसकेका छन् । अस्पतालका सर्जन डाक्टर रमेश बस्नेतका अनुसार चिरफार नगरिकन यस लेजर (RIRS) प्रविधिमा मृगौलादेखि मुत्रनलीसम्म रहेका पत्थरीहरु फुटाएर निकालिन्छ । विगतमा पत्थरीसम्बन्धी उपचार विधि भनेको चिरफार गरेर गर्नुपर्ने अवस्था थियो । चिरफार पछि बिरामीलाई दुखाई तथा अन्य स्वास्थ्य समस्याहरु पाइएको थियो तर प्रविधिको विकाससँगै अहिले (RIRS) लेजर प्रविधिले मृगौलादेखि मुत्रनलीसम्म रहेका पत्थरीहरुको सहज र सफल उपचार भैरहेको अस्पतालका बरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतले बताउनुभयो । पश्चिम नेपालमै पहिलो पटक बुद्ध हस्पिटलमा सुरु भएको सेवा काठमाण्डौमा गरिने भन्दा सस्तो हुने डाक्टर बस्नेतले जानकारी दिनुभयो । यो प्रविधिवाट शल्यक्रिया गरेका बिरामीहरु तीनदिनमै घर जानसक्ने उहाँले बताउनुभयो ।

“अस्पतालले विभिन्न किसिमका नयाँनयाँ प्रविधिहरु ल्याएर सेवा क्षेत्रका बिरामीहरुलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता टारेको छ” डाक्टर बस्नेतले भन्नुभयो । सेवा सुचारु गर्दा वरिष्ठ युरोलोजिष्ट डाक्टर सुजित पौडेल र डाक्टर पवन धितालले सहयोग गरेको डाक्टर बस्नेतले जानकारी दिनुभयो ।

अस्पतालले अहिले उच्चस्तरीय जर्मन लेजर प्रविधि ल्याएर शरीरका विभिन्न भागमा रहेका पत्थरीको विना चिरफार शल्यक्रिया सेवा दिइरहेको छ । अस्पतालमा दुरविन (Laparoscopy) विधिवाट हर्निया, एपेन्डीसाइटिस, अण्डासयको ट्युमर साथै पित्त थैलीमा भएको पत्थरी निकाल्ने काम भैरहेको छ । दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा सामान्यदेखि जटिल प्रकारका शल्यक्रियाहरु भैरहेका छन् ।

जिल्ला तथा साविकको राप्ती अञ्चलका बिरामीहरु गुणस्तरीय सेवाको अभावमा टाढा जानुपर्ने बाध्यता अहिले बुद्ध इन्टरनेशनल अस्पतालले टारेको छ । निजी क्षेत्रबाट स्थापना भएको हस्पिटलले अहिले पश्चिम नेपालमै राम्रो सेवा दिँदै आएको छ । हस्पिटलका कार्यकारी प्रमुख बालाराम शर्माका अनुसार अस्पतालमा एनआइसीयु सहितको बालरोग सेवा, सीटिजी मेसिनसहितको प्रसुति सेवा, सी आर्म सहितको हाडजोर्नी सेवा भेन्टीलेटर सहितको आइसीयु (सर्जरी) सेवा समेत सञ्चालनमा आएको छ ।

अस्पतालमा ८ जना विशेषज्ञ र २ जना मेडिकल अफिसरले सेवा दिँदै गदै आएका छन् । २०७४ साल पुस महिनाबाट घोराहीमा अस्पतालले सेवा दिँदै आइरहेको छ । हस्पिटलले केही महिना भित्रमै प्रोस्टेट (Prostate) को अपरेसन सेवा सुरु गर्न लागेको कार्यकारी प्रमुख बालाराम शर्माले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस