तिर्थराज ज्ञवाली

मसुरीया(देउखुरी दाङ), ६ बैशाख । राप्ती गाउँपालिकामा ४ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएको छ । राप्ती गाउँपालिकाले भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भएसँगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सूचित गरेको थियो । सोही बमोजिम कुल ४ हजार ४ सय ६५ वटा फारम भरिएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका गत माघ १८ गतेको सूचना बमोजिम राप्ती गाउँपालिकाको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि लगत संकलन कार्यको म्याद सकिएको हो । ‘फाराम भरेर सकिएको छ, अहिले वडा कार्यालयमा वडास्तरीय सहजीकरण समितिबाट रुजु गर्न काम भइरहेको छ’ राप्ती गाउँपालिकाका भूमि समस्या समाधान ईकाइ प्रमुख बाल चन्द्र गुरुङले भन्नुभयो । ईकाइ प्रमुख बालचन्द्र गुरुङका अनुसार रुजु गरिसकेपछि कम्प्यूटरमा लगत प्रविष्टी गर्ने काम सुचारु हुने छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको राप्ती गाउँपालिकाको वटा नं. १ मा ९ सय, वडा नं. २ मा ६  सय ८०, वडा नं. ३ मा ७ सय ८०, वडा नं. ४ मा ४ सय, वडा नं. ५ मा ४ सय २०, वडा नं. ६ मा ३ सय ८०, वडा नं.  ७ मा ३ सय ९०, वडा नं. ८ मा २ सय ६० र वडा नं. ९ मा २ सय ५५ गरि कुल ४ हजार ४ सय ६५ लगत फारम भरिएको ईकाइ प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस