दाङ, २ जेठ । त्रिभुवननगर जेसीजको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३७ जना युवाहरुले रक्तदान गरेका छन् । रक्त रञ्चार केन्द्रमा रगतको अत्यधिक अभाव देखिएपछि जेसीजले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

पछिल्लो समय रगतको अभाव देखिएपछि वैशाख ३१ गते त्रिभुवननगर जेसीजकै आयोजनामा १३ जनाले रक्तदान गरेका थिए । त्यसैगरी जेठ १ गते पनि विद्यार्थी संगठनको आयोजनामा १० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र घोराही दाङले जनाएको छ ।

रक्त सञ्चार केन्द्र घोराही दाङका प्राविधिक ठाकुर पौडेलले अहिले भएको रगतले करिब ८÷९ दिनको माग धान्ने बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण पनि रगत दान गर्नेको सङ्ख्या घटेको उहाँले बताउनुभयो । पहिलेको तुलननामा माग अहिले कम भए पनि दाताहरुको अभावमा रगत अभाव भएको उहाँले बताउनुभयो ।त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्माले आफूहरुले रगतको अभाव हुन नदिनका लागि निरन्तर लागिरहेको बताउनुभयो । अहिले पनि रगत दान गर्नेहरुको विवरण सङ्कलन गरेर राखेको बताउँदै उहाँले अभाव देखिएमा तुरुन्तै रगत उपलब्ध गराउन सकिने बताउनुभयो ।

जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रमको ३१ गतेको कार्यक्रमको संजोजन बिपिन पाण्डेले गर्नुभएको थियो भने आज भएको कार्यक्रमको संयोजन प्रज्ज्वल शाहले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस