दाङ, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा जेसिआई त्रिभुवननगर तथा जेसिआई दाङ लेडीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका १७ स्थित आरोग्य सामुदायिक वनमा २ प्रजातिका २२ विरुवा रोपिएको हो ।

विश्व वातावरण दिवसको अवसर पारी दिगो विकासको लक्ष्यअनुसार जेसिआई नेपालले यो वर्ष प्राकृतिक अक्सिजनका लागि अभियान सञ्चालन गरेको छ । ‘एक बिरुवा मेरो जीवनका लागि’ भन्ने नाराका साथ जेसिआई नेपालका १ सय ६१ वटै शाखाहरुमा वृक्षारोपण सम्पन्न गरेको जेसिआई दाङ लेडीकी अध्यक्ष ममता विष्टले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा जेसिआई दाङ लेडीकी अध्यक्ष ममता विष्ट, जेसिआई त्रिभुवननगरका अध्यक्ष मुकेश्वर शर्मा, आरोग्य  सामुदायिक वनका अध्यक्ष सुशीला पौडेललगायत जेसिज सदस्य, पदाधिकारी एवं सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

६.४ हेक्टरमा फैलिएको सामुदायिक वनमा २ सय घरधुरी उपभोक्ता रहेका छन् । वनमा अमला, हर्रो, बर्रो, खयर, सिसौ, कपुर, कल्कीलगायतका बिरुवाहरु रोपिएका छन् । वनमा बर्गद्दी, कटही, ढिकपुर, ओखरा, घनीबगिया बस्तीका उपभोक्ताहरु रहेको सामुदायिक वनका अध्यक्ष सुशीला पौडेलले बताउनुभयो ।

वातावरण दिवसको अवसर पारेर कपुर र कल्की जातका बिरुवाहरु रोपिए पनि अन्य विभिन्न जातका विरुवाहरु घोराहीका सामुदायिक वन तथा सार्वजनिक स्थानमा रोप्ने लक्ष्य रहेको जेसिआई त्रिभुवननगरका सामुदायिक तथा व्यवस्थापन क्षेत्रका कार्यकारिणी उपाध्यक्ष कुलबहादुर वलीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस